काठमाडौं । नेपाल समाचारपत्रका सहायक सम्पादक तथा वरिष्ठ पत्रकार सुनिल महर्जनलाई लहना मिडियाले सम्मान गरेको छ। राजधानीमा आयोजित एक समारोहबीच महर्जनलाई नगद राशि, दोसल्ला तथा सम्मानपत्रसहित सम्मान प्रदान गरिएको हो।














लहना मिडियाले पत्रकारिता क्षेत्रमार्फत समाज, संस्कृति र समसामयिक विषयलाई निरन्तर उजागर गर्दै आएको योगदानको कदरस्वरूप महर्जनलाई सम्मान गरेको जनाएको छ। कार्यक्रममा विभिन्न सञ्चारकर्मी, साहित्यकार, समाजसेवी तथा सांस्कृतिक क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
सम्मान ग्रहणपछि महर्जनले पत्रकारिता केवल पेशा मात्र नभई समाजप्रतिको जिम्मेवारी र प्रतिबद्धताको माध्यम भएको उल्लेख गर्दै आफूलाई प्राप्त सम्मानले अझ जिम्मेवार भएर काम गर्न प्रेरणा मिलेको बताए।
कार्यक्रममा वक्ताहरूले नेपाली पत्रकारितामा सुनिल महर्जनले पुर्याएको योगदानको प्रशंसा गर्दै विशेषगरी संस्कृति, सम्पदा र सामाजिक विषयमा उनले निरन्तर कलम चलाउँदै आएको उल्लेख गरेका थिए।
लहना मिडियाले विगतदेखि नै साहित्य, पत्रकारिता, कला तथा संस्कृतिको क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गर्दै आएको जनाएको छ।
