ललितपुर, २६ बैशाख: बेलायतमा बसेर नेपाली साहित्य लेखनमा सक्रिय स्रष्टा शान्ति लिम्बूद्वारा सृजना गरिएको कविता संग्रह थेँम्सको लहरमा तमोरको स्पर्श” बिमोचित भएको छ।
ओयाम सरोकार समाज, काठमाडौंद्वारा आज शनिबार ललितपुरमा आयोजित कवि शान्ति लिम्बुको “थेँम्सको लहरमा तमोरको स्पर्श” नामक कविता संग्रह पुस्तक विमोचन समारोहमा प्रगतिशील साहित्यकार एवम् लेखक खगेन्द्र संग्रौलालगायत साहित्यप्रेमी व्यक्तित्वहरुले पुस्तकको बिमोचन गर्नुभएको हो।
पुस्तक बिमोचन समारोहमा मन्तव्य राख्नुहुँदै प्रगतिशील साहित्यकार एवम् लेखक खगेन्द्र संग्रौलाले शान्ति लिम्बूले सृजना गरेको “थेँम्सको लहरमा तमोरको स्पर्श” नामक कृतिमा देश छोड्नु पर्ने विवशता, प्रवासी जीवनको कुरा, मानव जीवनको जरा, नारी चेतनाका बिषयमा आधारित कविताहरु रहेको बताउनुभयो।
“जीवन भनेको ठट्टा र रमाइलो गर्ने क्रम पनि हो, जीवनमा ठट्यौली र रमाइलो चलिरहन्छ, माया प्रेमका कुरा, जीवन संघर्षका कुरा, दु:खपीडाका कुरा चलिरहन्छ,परिवारभित्रको सभ्यता नारी चेतनामा हुन्छ, नारी सम्बन्धी चेतनामा लेखिए कविता महत्त्वपूर्ण छ, पुस्तकमा समानताको दावी गर्ने चेतना भएका कविता छन्, समय अनन्त छ, जीवनको अन्त्य छ, हामी क्षणक्षणमा मृत्युका नजिकै गइरहेका छौँ, शान्ति लिम्बूको कविताले सीमित भएको जीवनलाई अर्थपूर्ण तरिकाले बाँच्न प्रेरित गर्छ।” संग्रौलाले भन्नुभयो।
साहित्यकार संग्रौलाले मानिस भनेको स्थिर भएर बस्ने प्राणी हैन भन्दै सबै नेपालीले योग्यता अनुसार यही रोजगारी पाएपनि सन्तुष्ट भएर बस्न सक्दैनन् भन्नुभयो। उहाँले मानिस अवसरको खोजी र आकाँक्षा पूरा गर्नका लागि परदेशमा जाने भन्दै साहित्यकार संग्रौलाले ज्ञान र सूचनाको आधारमा मानिसले जोखिम उठाउने बताउनुभयो।
चलचित्र निर्देशक एवम् कवि नविन लिम्बुले कविता कृतिमा याक्थुम चेतना, समग्रता, सम्पूर्णता, सहअस्तित्व रहेको भन्दै महिलावादको कुरालाई प्रष्ट पार्दै प्रस्तुत गरिएको धारणा राख्नुभयो।
कवि बिमला तुम्खेवा विश्वव्यापी लेखकीय संरचनामा महिलाहरुको बिषयलाई प्रमुख बनाइने गरेको भन्दै सुन्दर समाज निर्माणका निम्ति सुधारका पक्षमा कविताले समस्या उजागर गरेको भन्दै नेपाली समाजको संरचनाको गलत प्रबृत्ति विरुद्ध चटानी अडानहरुलाई कवितामा प्रस्तुत गरिएको बताउनुभयो। उहाँले पुस्तकका लेखकले बाँचेको समाज र स्मृतिलाई सुन्दर ढंगले प्रस्तुत गरिएको बताउनुभयो।
कृतिको समीक्षा गर्नुहुँदै गुरुङ सुशान्त यो कविता संग्रह स्मृति, भाषा संस्कृति र चेतनाको वैचारिक दस्तावेज भएको बताउँदै नेपाली मानव सभ्यता र साँस्कृतिक अस्तित्वको संकटलाई पुस्तक चित्रण गरिएको बताउनुभयो। उहाँले मानिस धन कमाउन परदेशी बन्दैगर्दा आर्थिक रुपमा धजीवित भएपनि संस्कृतिक रुपमा हराउँदै गएको वैचारिक चिन्तनलाई पुस्तकमा उजागर गरिएको विश्लेषणात्मक टिप्पणी गर्नुभयो।
लेखिका शान्ति लिम्बूले निरन्तर अगाडि बढ्नु जीवनको एउटा पाटो भएको भन्दै मनमा आएका धेरै भावना र कुराहरूलाई समेटेर कविता कृति तयार पारेको बताउनुभयो।



रत्न पुस्तक भण्डार बागबजारले प्रकाशन गरेको पुस्तक यस पुस्तकमा स्त्री, प्रकृति, देश र परदेशका बिषयवस्तु र भावलाई कवितामा प्रस्तुत गरिएको छ।—
