पाँच दिने अन्तर्राष्ट्रिय ‘रिट्रिभल मेडिसिन’ सम्बन्धी एड्भान्स तालिम तथा टिओटी कार्यक्रम सम्पन्न

चैत्र १३, ललितपुर — नेपालमै पहिलो पटक आयोजना गरिएको अन्तर्राष्ट्रिय स्तरको ‘एड्भान्स ट्रेनिङ एण्ड ट्रेनिङ अफ ट्रेनर्स (टिओटी)’ कार्यक्रम नेपाल मेडिसिटी अस्पताल मा सफलतापूर्वक सम्पन्न भएको छ । पाँच दिनसम्म सञ्चालन भएको उक्त तालिम ‘रिट्रिभल मेडिसिन’ मा स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको हो ।

‘रिट्रिभल मेडिसिन’ भनेको गम्भीर अवस्थामा रहेका बिरामीलाई एक स्थानबाट अर्को स्थानमा — जस्तै दुर्घटनास्थलबाट अस्पताल वा सानो अस्पतालबाट विशेषज्ञ अस्पतालमा सुरक्षित रूपमा स्थानान्तरण गर्दै जाँदा आवश्यक पर्ने उन्नत आपतकालीन चिकित्सा सेवा प्रदान गर्ने चिकित्सा शाखा हो । यसमा विशेषगरी प्रि-हस्पिटल केयर, एम्बुलेन्स सेवा, हेलिकप्टर रेस्क्यु तथा ट्रान्सफरका क्रममा बिरामीको जीवन रक्षा गर्ने सीपहरू समावेश हुन्छन् ।

यस तालिममार्फत चिकित्सक, नर्स तथा प्यारामेडिक्सलाई आपतकालीन चिकित्सा सेवा तथा प्रि-हस्पिटल केयर, विशेषगरी हेलिकप्टर रेस्क्यु सम्बन्धी दक्ष बनाउने प्रयास गरिएको आयोजकले जनाएको छ । साथै, तालिमले सहभागीहरूलाई भविष्यमा अन्य स्वास्थ्यकर्मीलाई तालिम दिन सक्ने प्रशिक्षकका रूपमा समेत तयार पार्ने उद्देश्य राखिएको छ ।

कार्यक्रमबारे जानकारी दिँदै डा. सञ्जय कार्की ले तालिमका क्रममा सहभागीहरूलाई आपतकालीन अवस्थामा बिरामीको सुरक्षित स्थानान्तरण, दबाबपूर्ण परिस्थितिमा काम गर्ने क्षमता तथा प्रि-हस्पिटल सेवामा आवश्यक व्यावहारिक सीपहरू प्रदान गरिएको बताए ।

उनका अनुसार, “यस तालिमले सहभागीहरूलाई ‘रिट्रिभल मेडिसिन’ सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको अध्ययनका लागि तयार पारिएको छ र भविष्यमा ग्लास्गोबाट उक्त विषयमा डिग्री हासिल गर्न सक्षम बनाउनेछ ।”

Royal College of Surgeons of Edinburgh ले ‘डिप्लोमा इन रिट्रिभल एण्ड ट्रान्सफर मेडिसिन’ डिग्री प्रदान गर्ने गर्दछ । “यो तालिमले नेपालका चिकित्सकहरूलाई उक्त परीक्षामा सहभागी हुन सहज बनाउनेछ,” डा. कार्कीले बताए । “हाम्रो उद्देश्य नेपालमै यस्तो डिग्री प्राप्त स्वास्थ्यकर्मीबाट बिरामीलाई सेवा प्रदान गर्नु हो ।”

तालिममा मोक टेस्टको माध्यमबाट सहभागीहरूलाई अन्तर्राष्ट्रिय परीक्षाको ढाँचा, मूल्याङ्कन प्रक्रिया तथा व्यावहारिक परीक्षणबारे जानकारी दिइएको थियो । यसले उनीहरूलाई आगामी ‘रिट्रिभल मेडिसिन’ सम्बन्धी परीक्षाको तयारीमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

कार्यक्रममा सहभागीहरूमध्ये करिब ९० प्रतिशत चिकित्सक रहेका थिए भने बाँकी नर्स तथा प्यारामेडिक्स थिए । ग्रान्डे इन्टरनेशनल अस्पताल, नर्भिक इन्टरनेशनल अस्पताल, HAMS Hospital, नेपाल मेडिसिटी अस्पताल तथा नारायणी बयोद्या अस्पताल का चिकित्सकहरूका साथै पोखरा, लुम्बिनी र वीरगञ्जबाट समेत स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो ।

नेपाल मेडिसिटीले यस्ता तालिममार्फत नेपालमा प्रि-हस्पिटल आपतकालीन सेवाको स्तर उकास्ने तथा दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको जनाएको छ ।

यस प्रकारको तालिमले भविष्यमा नेपालमा आपतकालीन स्वास्थ्य सेवाको गुणस्तर सुधार हुने र गम्भीर अवस्थाका बिरामीहरूको जीवनरक्षा दर बढ्ने अपेक्षा गरिएको छ ।

More From Author

काठमाडौं — वडामै भूमि प्रशासन सेवा: महानगर र मालपोतबीच सम्झौता

ललितपुर । नेपालको ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको रुपमा परिचित कार्तिक नाच लाई समेटेर विशेष हुलाक टिकट प्रकाशित गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *