काठमाडौं । Global Recycling Day 2026 को अवसरमा सफाईकर्मी तथा कवाडी संकलनकर्ताको सम्मानमा “हाम्रो साइकल यात्रा” र्याली भव्य रूपमा सम्पन्न भएको छ।
Creation Nepal को आयोजनामा सम्पन्न उक्त र्याली संस्थाकी अध्यक्ष अरुणा कार्की ले झण्डा फहराउँदै उद्घाटन गरेकी थिइन्। उनले यो केवल साइकल यात्रा मात्र नभई वातावरण तथा पृथ्वीको संरक्षणका लागि निस्वार्थ रूपमा योगदान दिइरहेका नायकहरूको सम्मान गर्ने अवसर भएको बताइन्।
European Union को सहयोगमा सञ्चालित GreenShift Project अन्तर्गत आयोजित कार्यक्रममा ४०० भन्दा बढी सहभागीहरूको उपस्थिति रहेको थियो। संस्थाकी महासचिव रोशना सुवेदी का अनुसार कार्यक्रम फोहोर व्यवस्थापन, पुनःप्रयोग (रिसाइक्लिङ) तथा चक्रिय अर्थतन्त्र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो।
“फोहोर होइन अवसर सोचौं” भन्ने मूल नाराका साथ सम्पन्न कार्यक्रममा फोहोरलाई समस्या मात्र नभई अवसरका रूपमा हेर्ने सन्देश प्रवाह गरिएको कार्यक्रम निर्देशक सुजाता कोइराला ले जानकारी दिइन्। कार्यक्रममा रिसाइक्लिङ व्यवसाय, हरित रोजगारी तथा दिगो विकासमा विशेष जोड दिइएको थियो।
साइकल र्याली बिहान शंखमूल बाट सुरु भई बागमती करिडोर, बल्खु पुल, धोबीघाट, एकान्तकुना, जावलाखेल, पुल्चोक र कुपण्डोल हुँदै पुनः शंखमूलमै आएर समापन भएको थियो। कार्यक्रममा काठमाडौं उपत्यकाका करिब २०० फोहोर संकलनकर्ताको सक्रिय सहभागिता रहेको थियो।
र्यालीमार्फत फोहोर व्यवस्थापनमा संलग्न श्रमिकहरूको योगदानको सम्मान गर्नुका साथै फोहोर वर्गीकरण, पुनःप्रयोग तथा जिम्मेवार उपभोगबारे जनचेतना अभिवृद्धि गरिएको आयोजकले जनाएको छ। साथै, कार्यक्रममा रिसाइक्लिङ उद्यमी, फोहोर संकलनकर्ता तथा साझेदार संस्थाहरूलाई सम्मानपत्र वितरण गरिनुका साथै विभिन्न रिसाइक्लिङ सामग्रीहरूको प्रदर्शनीसमेत गरिएको थियो।
नेपालको संविधानले सुनिश्चित गरेको स्वच्छ र स्वस्थ वातावरणको अधिकार तथा सम्बन्धित नीतिहरूसँग जोडिएको यस अभियानले फोहोरको मात्रा घटाउने, हरितगृह ग्यास उत्सर्जन कम गर्ने र दिगो उपभोग तथा उत्पादनलाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रममा कन्सोर्टियम साझेदारका रूपमा Restless Development र Youth Innovation Lab को पनि सहभागिता रहेको थियो।
