लगनखेलको न्हु पोखरीसँगै पार्क निर्माण हुने

ललितपुर । ललितपुर महानगरपालिका–५ लगनखेलस्थित न्हु पोखरीको पूर्वतर्फ रहेको खाली जमिनमा पार्क निर्माण हुने भएको छ। हरियाली प्रवर्द्धन तथा खुला क्षेत्र संरक्षणलाई लक्षित गर्दै उक्त स्थानमा पार्क निर्माण गर्न लागिएको हो।

पार्क निर्माणका लागि स्वीस सरकार विकास सहयोग एसडिसी (SDC) को प्राविधिक सहयोग रहनेछ। यस सम्बन्धी समझदारीपत्रमा आइतबार ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरीबाबु महर्जन र एसडिसीका तर्फबाट साकिल मानन्धरले हस्ताक्षर गरेका छन्।

सम्झौता कार्यक्रममा नगर प्रमुख महर्जनले महानगरपालिकाले हरियाली प्रवर्द्धन र खुला क्षेत्र संरक्षणलाई प्राथमिकतामा राखेर विभिन्न योजना अघि बढाइरहेको बताए। उनले न्हु पोखरीसँगै निर्माण हुन लागेको पार्कले महानगरको खुला क्षेत्र संरक्षण गर्ने नीतिलाई थप बल पुग्ने विश्वास व्यक्त गरे। साथै, पार्क निर्माणका लागि प्राविधिक सहयोग उपलब्ध गराएकोमा एसडिसीलाई धन्यवाद समेत दिए।

कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष विकासमान श्रेष्ठले पोखरीसँगै बन्ने पार्कले शहरलाई अझ आकर्षक र व्यवस्थित बनाउने बताए। जलवायु परिवर्तनका कारण विश्वभर वातावरणीय चुनौती बढ्दै गएको उल्लेख गर्दै उनले खुला ठाउँ र हरियाली संरक्षणले वातावरण जोगाउन महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे।

एसडिसीका प्रतिनिधि साकिल मानन्धरले ललितपुर महानगरपालिकासँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्दै वातावरणमैत्री विकासका कार्यक्रमहरूमा आगामी दिनमा पनि सहकार्य जारी रहने बताए।

महानगरपालिकाका अनुसार पार्क निर्माणपछि न्हु पोखरी क्षेत्रलाई व्यवस्थित गर्दै स्थानीयवासीका लागि विश्राम तथा मनोरञ्जनको खुला हरित क्षेत्रका रूपमा विकास गरिनेछ।

More From Author

२०८२ फागुन २१ गतेको चुनावका लागि खटिएका निर्वाचन प्रहरी हातमा प्रमाणपत्र र मनमा गौरवका साथ बिदा

सफाईकर्मीको सम्मानमा ‘हाम्रो साइकल यात्रा’ र्याली सम्पन्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *