Creation Nepal द्वारा GreenShift Project अन्तर्गत आयोजना गरिएको उक्त कार्यक्रमले फोहरलाई समस्याका रूपमा मात्र नभई अवसरका रूपमा हेर्नुपर्ने सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ।
कार्यक्रममा Lalitpur Metropolitan City की उपमेयर मञ्जली शाक्य बज्राचार्य प्रमुख अतिथिका रूपमा सहभागी थिइन्। उनले ग्लोबल रिसाइक्लिङ डेको महत्वबारे जनचेतना अझ बढाउन आवश्यक रहेको बताउँदै सरसफाइमा खटिने कामदारहरूको योगदानको कदर गर्न आग्रह गरिन्। महानगरले फोहर व्यवस्थापन सुधारका लागि निरन्तर काम गरिरहेको उल्लेख गर्दै उनले आयोजक संस्था तथा सहयोगी निकायप्रति आभार व्यक्त गरिन्।
विशेष अतिथि European Union का नेपालस्थित सहकार्य प्रमुख Jose Luis Vinuesa Santamaria ले यस्ता पहलहरूले दिगो भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले “ग्रीन सर्कुलारिटी” अवधारणाले घटाउने, पुनःप्रयोग गर्ने, पुनःप्राप्त गर्ने र रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्ने उल्लेख गरे।
क्रिएसनकी कार्यक्रम निर्देशक सुजाता कोइराला ले प्लास्टिकलाई समस्याका रूपमा मात्र नभई अवसरका रूपमा बुझ्नुपर्ने बताउँदै सामूहिक प्रयासमार्फत नयाँ सम्भावनाहरू खोज्नुपर्नेमा जोड दिइन्।
कार्यक्रमको अध्यक्षता गर्दै अरुणा कार्की ले ग्रीनशिफ्ट केवल परियोजना नभई परिवर्तनको अभियान भएको बताइन्। उनले कार्यक्रममा देखिएको उत्साह, ऊर्जा र विचार आदान–प्रदानले हरित रूपान्तरणतर्फ सकारात्मक संकेत गरेको उल्लेख गरिन्।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा करिब १०० जना फोहर संकलनकर्ताको सहभागितामा साइकल र्याली आयोजना गरिएको थियो। र्याली UN Park बाट सुरु भई थापाथली पुल, बागमती करिडोर, बल्खु, नख्खु, भैंसेपाटी, ज्वालाखेल र पुल्चोक हुँदै पुनः सोही स्थानमा समापन भएको थियो।
कार्यक्रममा ३०० देखि ५०० जनासम्मको सहभागिता रहेको आयोजकले जनाएको छ। कार्यक्रममा रिसाइक्लिङ उद्यमी, फोहर संकलनकर्ता, युवा नवप्रवर्तनकर्ता तथा हरित व्यवसायमा संलग्न संस्थाहरूको उल्लेख्य उपस्थिति थियो।
यस अवसरमा रिसाइक्लिङ क्षेत्रमा योगदान पुर्याउने उद्यमी, फोहर संकलनकर्ता तथा साझेदार संस्थाहरूलाई प्रशंसा पत्र प्रदान गरिएको थियो। साथै, दुई वटा विषयगत छलफल सत्रमार्फत रिसाइक्लिङ र सर्कुलर अर्थतन्त्रका अवसर, चुनौती तथा नवप्रवर्तनबारे विज्ञहरूले विचार राखेका थिए।
वक्ताहरूले रिसाइक्लिङले फोहरको मात्रा घटाउने, हरितगृह ग्यास उत्सर्जन कम गर्ने तथा दिगो उपभोग र उत्पादन प्रणालीलाई प्रवर्द्धन गर्ने बताएका थिए। वातावरणविद्हरूका अनुसार यस्ता पहलहरूले स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने संवैधानिक अधिकारलाई टेवा पुर्याउनुका साथै विद्यमान वातावरणीय नीतिहरूसँग पनि मेल खानेछन्।
आयोजकका अनुसार, यस कार्यक्रमले स्थानीय तह, निजी क्षेत्र, युवा समूह तथा वातावरणीय संस्थाबीच सहकार्य सुदृढ गर्दै स्वच्छ सहर, दिगो रोजगारी तथा हरित अर्थतन्त्र प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
