वरिष्ठ पत्रकार एवं साहित्यकार सुरेशकिरण मानन्धरको हृदयघातबाट निधन

काठमाडौँ।

भाषा आयोगका सदस्य, वरिष्ठ पत्रकार तथा साहित्यकार सुरेशकिरण मानन्धरको ५७ वर्षको उमेरमा सोमबार हृदयघातका कारण निधन भएको छ।

सोमबार साँझ खुसिबुस्थित एक बैंक्वेटमा भाञ्जीको विवाह समारोहमा सहभागी भएका मानन्धर आफन्तसँग हाँस्दै–बोल्दै रहेका बेला अचानक हृदयघात भएको उनकी श्रीमती सजनी मानन्धरले बताउनुभयो। लगत्तै उनलाई महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको मनमोहन कार्डियोलोजी केन्द्रमा पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। भाञ्जीको विवाहका कारण उनको निधनको खबर मंगलबार साँझ मात्र सार्वजनिक गरिएको हो।

वि.सं. २०२३ कात्तिक २३ गते जन्मिएका मानन्धरले आफ्नो जीवनको अधिकांश समय पत्रकारिता र साहित्य सिर्जनामा बिताउनुभएको थियो। नेपालभाषा पत्रकारितामा झन्डै चार दशक सक्रिय रहनुभएका उहाँ विभिन्न दैनिक पत्रपत्रिकामा स्तम्भकारका रूपमा पनि परिचित हुनुहुन्थ्यो। उहाँका लेखहरू नेपाल समाचारपत्र दैनिकलगायत विभिन्न सञ्चारमाध्यममा नियमित प्रकाशित हुँदै आएका थिए। पछिल्लो डेढ वर्षदेखि उहाँ भाषा आयोगका सदस्यका रूपमा कार्यरत हुनुहुन्थ्यो।

मानन्धरले २०४५ सालमा मल्ल के सुन्दर सम्पादक रहेको ‘इनाप’ साप्ताहिक र विश्वभूमि दैनिकबाट पत्रकारिता यात्रा सुरु गर्नुभएको थियो। २०४६ सालको जनआन्दोलनका क्रममा वीर अस्पतालमा उपचाररत जनआन्दोलनका नेता गणेशमान सिंहसँग चिकित्सकको भेषमा गरिएको अन्तर्वार्ताले उहाँलाई व्यापक रूपमा चिनाएको पत्रकार सुजीव बज्राचार्यले स्मरण गर्नुभयो।

नेपालभाषा पत्रकारितालाई निरन्तरता दिने अभियानका रूपमा उहाँले नयाँ विश्वभूमि (२०४९–२०५१), सन्ध्या टाइम्स (२०५२–२०७२) र नेपालभाषा टाइम्स दैनिक (२०७३–२०८१) का सम्पादकका रूपमा काम गर्नुभएको थियो। शान्त स्वभाव, कामप्रति समर्पण र भाषा–संस्कृतिप्रतिको गहिरो प्रतिबद्धता उहाँको विशेषता रहेको नेपालभाषा एकाडेमीका चान्सलर मल्ल के सुन्दरले बताउनुभयो।

साहित्य क्षेत्रमा पनि उहाँ सक्रिय हुनुहुन्थ्यो। उहाँका कृतिहरूमध्ये आधुनिक कविता संग्रह ‘थौं घन्टाघरं जिके ई न्यनाच्वन’, संरक्षणविद् डा. तीर्थमान मास्केको जीवनी ‘टाइगर वार्डेन’ र पद्मरत्न तुलाधरको जीवनी प्रकाशित छन्। त्यस्तै ‘मह अदालत’ रेडियो नाटक श्रृंखला र ‘मह चौतारी’ टेलिफिल्म श्रृंखलाको लेखन समेत उहाँले गर्नुभएको थियो।

पत्रकारिता र साहित्य क्षेत्रमा योगदान पुर्‍याएबापत उहाँलाई पारिजात सिर्जनशील पुरस्कार (२०५६), राष्ट्रिय प्रतिभा पुरस्कार (२०५७), जरिमैंया पुरस्कार (२०६८), गोविन्द वियोगी पत्रकारिता पुरस्कार (२०७०) तथा लहना धर्म–मोति नेपालभाषा पत्रकारिता सिरपाः प्रदान गरिएको थियो।

वरिष्ठ पत्रकार किशोर श्रेष्ठले मानन्धरको निधनप्रति दुःख व्यक्त गर्दै भन्नुभयो, “आज देशले एउटा बहुआयामिक प्रतिभा गुमाएको छ। उहाँ जस्तो प्रतिभा पुनः जन्मिन समय लाग्नेछ।”

More From Author

स्ट्रक्चरल इन्जिनियर्सहरुकाे ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्नललितपुर, ११ जेठ: स्ट्रक्चरल इन्जिनियर्सहरुकाे लागि ललितपुरमा सञ्चालन भएको ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्न भएको छ।स्ट्रक्चरल इन्जिनियर्स एशोसिएशन नेपाल र नेपाल विल्डिङ इनफरमेशन फोरमको संयुक्त आयोजनामा ललितपुरको च्यासलस्थित हिमालय कलेज अफ इन्जिनियरिङमा सञ्चालित ”निर्माण सूचना प्रणाली’ (वीआइएम) सम्बन्धी चार दिने आधारभूत तालिम आइतबार  सम्पन्न भएको हो।

आरम्भिक प्रि-स्कुलको दोस्रो वार्षिकोत्सव सम्पन्न

भाषा आयोगका सदस्य मानन्धरलाई श्रद्धाञ्जली

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Recent Posts