काठमाडौं, माघ २८ — अख्तियार दुरूपयोग अनुसन्धान आयोगद्वारा प्रदान गरिने सुशासन पुरस्कार–२०८२ बाट नेपाल समाचारपत्र दैनिकका सहायक सम्पादक सुनील महर्जन सम्मानित हुनुभएको छ। आयोगको ३५औँ स्थापना दिवसका अवसरमा बुधबार आयोजित विशेष समारोहमा उहाँलाई उक्त पुरस्कार प्रदान गरिएको हो।

राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा उपराष्ट्रपति रामसहायप्रसाद यादवले महर्जनलाई नगद २५ हजार रुपैयाँ राशिसहितको सुशासन पुरस्कार–२०८२ प्रदान गर्नुभएको थियो। भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनका पक्षमा निरन्तर कलम चलाउँदै उल्लेखनीय योगदान पुर्याउने सञ्चारकर्मीलाई उक्त पुरस्कार प्रदान गर्ने परम्परा रहेको छ।
महर्जन यस कमिटीका पूर्वअध्यक्ष समेत हुनुहुन्छ। साथै उहाँ नेवाः पत्रकार राष्ट्रिय दबूका वरिष्ठ उपाध्यक्ष तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का सचिवका रूपमा समेत सक्रिय रहँदै आउनुभएको छ। पत्रकारितामार्फत सुशासन, पारदर्शिता र जवाफदेहिताको पक्षमा निरन्तर आवाज उठाउँदै आएको योगदानको कदरस्वरूप उहाँ सम्मानित हुनुभएको हो।

सोही अवसरमा उकालो डटकमकी दीपा दाहाल, न्यूज नेपालका खिलानाथ कार्की, गोरखापत्र मुगुका संवाददाता हरिकृष्ण ऐडी तथा लेखक डा. दीपेश घिमिरेसहित अख्तियारका अनुसन्धान अधिकृतहरूलाई पनि पुरस्कार प्रदान गरिएको थियो।

कार्यक्रममा राष्ट्रपति पौडेलले अख्तियारको स्मारिका लोकार्पण गर्नुभएको थियो। समारोहमा प्रधानमन्त्री, प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, नेपाल सरकारका मन्त्रीहरू, संवैधानिक आयोगका प्रमुखहरू, सुरक्षानिकायका प्रमुख, नेपाल सरकारका सचिव तथा सहसचिवहरू र सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रत्येक वर्ष स्थापना दिवसका अवसरमा सुशासन प्रवर्द्धनमा योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई सम्मान गर्दै आएको छ। यस वर्षको सम्मानले पत्रकारितामार्फत सुशासन सुदृढीकरणमा खेलेको भूमिकालाई थप प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ।
