ललितपुर, २५ माघ
नेपाली कांग्रेसका अग्रज नेता तथा पूर्वमन्त्री ओमकारप्रसाद श्रेष्ठले लोकतन्त्रवादी शक्तिहरू कमजोर हुँदा त्यसको प्रत्यक्ष असर देशले भोग्नुपर्ने बताउनुभएको छ। उहाँले लोकतन्त्रवादीबीच एकता नहुँदा नागरिकले दुःख पाउने अवस्था सिर्जना हुने उल्लेख गर्नुभयो।
नेपाली कांग्रेसका पूर्व जिल्ला सचिव स्वर्गीय ध्रुब थापाको स्मृतिमा ध्रुब थापा स्मृति प्रतिष्ठानद्वारा आयोजित चौधौँ स्मृतिसभामा मन्तव्य राख्दै पूर्वमन्त्री श्रेष्ठले वर्तमान राजनीतिक अवस्थाबारे चिन्ता व्यक्त गर्नुभयो।
“हामी निर्वाचनको अभियानमा छौँ। जेन–जि पुस्तालाई बुझ्न र बुझाउन सक्नुपर्छ। भरपर्दो नेता र दूरदर्शिता नभएको पार्टीले देशलाई स्थायित्व दिन सक्दैन,” उहाँले भन्नुभयो, “सत्ता र शक्ति हत्याउने सोच मात्रै राख्ने तथा भर नपर्ने व्यक्ति र पार्टीको पछि लाग्नु देशका लागि घातक हुन्छ।”
पूर्वमन्त्री श्रेष्ठले ठूलो बजेट भएको महानगरको नेतृत्व गर्दै कार्यकाल पूरा गर्न नसक्ने व्यक्तिबाट देशको समृद्धि सम्भव नहुने धारणा राख्दै कांग्रेस मात्रै जनताप्रति प्रतिबद्ध भएर काम गर्न सक्ने पार्टी भएको दाबी गर्नुभयो।
उहाँले प्रजातन्त्रको सफलताका लागि स्वर्गीय ध्रुब थापाले पुर्याउनुभएको योगदान स्मरणीय रहेको उल्लेख गर्नुभयो। साथै, विशेष अधिवेशनले पार्टीभित्र सबैको अपनत्व सिर्जना गरेको भन्दै नेपाली कांग्रेस बहुमत–अल्पमतको आधारमा होइन, सहमति र सहकार्यको राजनीतिमा अघि बढिरहेको जानकारी दिनुभयो।
कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेशका उपसभापति तथा संविधानसभा सदस्य चन्द्र महर्जनले स्वर्गीय थापाको जिम्मेवारीपूर्ण सहयोगकै कारण आफ्नो सभापतित्वको कार्यकाल सफल भएको बताउनुभयो। उहाँले राजनीतिक, सामाजिक तथा शैक्षिक क्षेत्रमा समेत स्वर्गीय थापाको योगदान उल्लेखनीय रहेको बताउँदै संविधानको रक्षा र लोकतान्त्रिक व्यवस्थाको संरक्षणका लागि कांग्रेस नेतृत्वको सरकार आवश्यक रहेको धारणा राख्नुभयो।
महर्जनले कांग्रेस नेतृत्वमै जेन–जि आन्दोलनको मर्मअनुसार युवाको सोचअनुकूल शान्ति, सद्भाव र समृद्धि हासिल गर्न सकिने विश्वास व्यक्त गर्नुभयो।
नेपाली कांग्रेस ललितपुरका सभापति तथा पार्टीतर्फबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार जितेन्द्रकुमार श्रेष्ठले पञ्चायत कालमा प्रजातन्त्र स्थापनाका लागि स्वर्गीय ध्रुब थापाले पुर्याउनुभएको योगदान स्मरण गर्नुभयो। उहाँसँगै कार्यसमितिमा रही काम गर्ने अवसर पाएको उल्लेख गर्दै सभापति श्रेष्ठले स्वर्गीय थापा सालीन र भद्र स्वभावका व्यक्ति भएको बताउनुभयो।
उहाँले समाजका हरेक क्षेत्रमा योगदान गर्ने व्यक्तिलाई जीवितै सम्मान गर्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा बोल्दै गोकुल खड्काले स्वर्गीय ध्रुब थापा मृदुभाषी, कुशल संगठनकर्ता तथा त्यागी समाजसेवी रहेको उल्लेख गर्दै उहाँले समाज र संगठनमा पुर्याउनुभएको योगदानको चर्चा गर्नुभयो।
