ललितपुर, १४ पुस
वन तथा वातावरण मन्त्री एवं राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष माधवप्रसाद चौलागाईंले चिडियाखानाको व्यवस्थापनलाई सहज बनाउँदै प्राणी संरक्षण अभियानलाई अझ प्रभावकारी रूपमा अगाडि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा सदर चिडियाखाना व्यवस्थापनको ३०औँ वार्षिकोत्सवको अवसरमा सोमबार जावलाखेलमा आयोजित स्मारिका विमोचन तथा सम्मान कार्यक्रममा मन्तव्य राख्दै मन्त्री चौलागाईंले मानव र प्राणीबीचको सम्बन्ध सुदृढ बनाउन चिडियाखानाले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्नुभयो। उहाँले सदर चिडियाखाना व्यवस्थापन पक्षले गरेको कार्यको प्रशंसा गर्दै सरसफाइमा दिएको ध्यानप्रति खुसी व्यक्त गर्नुभयो।
मन्त्री चौलागाईंले स्वार्थमा आधारित प्रवृत्तिको अन्त्य गर्दै इमानदारीपूर्वक सेवा प्रवाह, निर्णय र कार्यान्वयनमा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो। सूर्यविनायकमा निर्माणाधीन चिडियाखानाको काम केही हप्ताभित्र प्रभावकारी रूपमा अघि बढ्ने बताउँदै संरक्षण अभियानमा राज्य मात्र होइन, समुदायको समेत सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।
“अब संरक्षण अभियानमा राज्यतिर मात्र औँला उठाउने होइन, समुदायको साझेदारी र सहकार्यमा पनि जोड दिनुपर्छ,” उहाँले भन्नुभयो।
उहाँले बाघ संरक्षणमा मानवीय दायित्व थप सृजना हुने अवस्थाको न्यूनीकरण गर्नुपर्ने, प्रणालीगत रूपमा नियमसंगत काम गर्ने वातावरण किन बन्न नसकेको हो भन्ने विषयमा खोजी गर्नुपर्नेमा जोड दिनुभयो। विगतमा कर्णालीले केन्द्रीय सत्तामा पहुँच नपाएको अवस्था आफू मन्त्री बनेपछि अन्त्य भएको उल्लेख गर्दै देशलाई निराशाको चंगुलमा राख्ने काम गर्नु नहुने धारणा व्यक्त गर्नुभयो।
मन्त्री चौलागाईंले चिडियाखानाको विस्तारसँगै प्राणी संरक्षण र सरसफाइ कायम राख्ने उत्कृष्ट मापदण्ड तयार गर्न सदर चिडियाखानाले ध्यान दिनुपर्ने बताउनुभयो। साथै विगतका नेतृत्वबाट अपेक्षित काम हुन नसकेकै कारण ‘जेन–जेड विद्रोह’ देखिएको उल्लेख गर्दै सुशासनप्रतिको हुटहुटी हरेक सरकारी कार्यालय र नेतृत्वमा हुनुपर्नेमा जोड दिनुभयो।
“जति दिन मन्त्रालयमा रहन्छौँ, सुशासन र सेवा प्रवाहमा ध्यान दिएर नागरिकमैत्री काम गर्छौँ,” उहाँले भन्नुभयो।
कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले राष्ट्रिय प्रकृति संरक्षण कोषलाई सदर चिडियाखाना व्यवस्थापनका लागि गरिएका सबै प्रतिबद्धता पूरा भएको जानकारी दिनुभयो। उहाँले चिडियाखानामा संरक्षणमा रहेको पाटेबाघका लागि महानगरपालिकाले १५ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको बताउनुभयो।
चिडियाखाना ललितपुर महानगरपालिकाको गौरव भएको उल्लेख गर्दै यसको संरक्षण र व्यवस्थापनमा कुनै समस्या आउन नदिने प्रतिबद्धता जनाउनुभयो। साथै चिडियाखानाको विकास र विस्तारमा महानगर साझेदार भएर काम गर्न तयार रहेको बताउनुभयो। रात्रीकालीन अवलोकनको व्यवस्था मिलाएकोमा खुसी व्यक्त गर्दै राष्ट्रिय प्रकृति संरक्षण कोषलाई थप ३० वर्षका लागि चिडियाखाना व्यवस्थापनको जिम्मेवारी दिएकोमा पनि उहाँले सन्तोष व्यक्त गर्नुभयो।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका कार्यवाहक अध्यक्ष जुद्धबहादुर गुरुङले भक्तपुरको सूर्यविनायकमा प्रस्तावित खुला चिडियाखाना सोचअनुसार अगाडि बढ्न नसकेकोप्रति दुःख व्यक्त गर्नुभयो। बन्यजन्तु विभाग तथा संरक्षण क्षेत्रसँग समन्वय गर्दै प्राणी उद्धारमा सदर चिडियाखानाले गरेको कामको उहाँले प्रशंसा गर्नुभयो।
राष्ट्रिय प्रकृति संरक्षण कोषका पूर्वअध्यक्ष एवं चीनका लागि नेपालका राजदूत कृष्णप्रसाद ओलीले कोषलाई वैज्ञानिक र सुव्यवस्थित बनाउन विद्वत् वर्गसँग सहकार्य आवश्यक रहेको बताउनुभयो। सूर्यविनायकमा केन्द्रीय चिडियाखाना निर्माणका लागि मन्त्रालयबाट अपेक्षित सहयोग नपाएको भन्दै मन्त्रीको ध्यानाकर्षण गराउनुभयो। चिडियाखाना व्यवस्थापन, अध्ययन–अनुसन्धान र अन्तर्राष्ट्रिय साझेदारीमा विगतका प्रतिबद्धता कर्मचारी तहबाट कार्यान्वयन नहुनु दुःखद रहेको उहाँको भनाइ थियो।
राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. बुद्धिसागर पौडेलले बन्यजन्तुको चापअनुसार सदर चिडियाखानाको क्षेत्रफल अपर्याप्त भएको उल्लेख गर्दै क्षेत्र विस्तारतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो। राष्ट्रिय निकुञ्जसँग सहकार्य गरी देशभर चिडियाखाना सञ्चालन गर्नुपर्ने सुझाव दिँदै दुर्लभ तथा लोपोन्मुख प्राणी संरक्षणलाई प्रभावकारी रूपमा अघि बढाउन आग्रह गर्नुभयो।
राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य–सचिव डा. नरेश सुवेदीले सदर चिडियाखाना व्यवस्थापनका लागि थप ३० वर्षको जिम्मेवारी प्रदान गरेकोमा नेपाल सरकारलाई धन्यवाद दिनुभयो। ललितपुर महानगरपालिका र वडा नं. ४ को प्रभावकारी समन्वय तथा अभिभावकत्वले सकारात्मक परिणाम आएको उहाँले बताउनुभयो।
‘फ्रेन्ड्स अफ जु टिचर कमिटी’का अध्यक्ष खगेन्द्र नेपालले ३० वर्षको गौरवमय यात्रा पूरा गर्न सफल भएकोमा शुभकामना व्यक्त गर्दै विद्यालयलाई संरक्षण शिक्षासँग जोड्दा अभियान थप प्रभावकारी हुने बताउनुभयो। ‘फ्रेन्ड्स अफ जु’ अभियानमार्फत १ लाख २७ हजार ४ सय ५० भन्दा बढी विद्यार्थी समेटिएको जानकारी पनि उहाँले दिनुभयो।
सदर चिडियाखानाका कार्यालय प्रमुख सत्यनारायण शाहले अग्रजहरूको योगदानका कारण उत्कृष्ट व्यवस्थापन सम्भव भएको उल्लेख गर्दै चिडियाखानाको आम्दानीबाट नेपालका दुई संरक्षण क्षेत्रको खर्च व्यवस्थापन गर्न सफल भएको जानकारी गराउनुभयो।
कार्यक्रममा बन्यजन्तु संरक्षणमा योगदान पुर्याउने राधाकृष्ण श्रेष्ठ, सरिता ज्ञवाली र इन्द्रराज भट्टराईसहित संरक्षणमा उत्कृष्ट कार्य गर्ने कर्मचारी तथा बन्यजन्तु संरक्षण विषयमा उत्कृष्ट कथा, कविता र गीत रचना गर्ने विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कृत गरिएको थियो।
