निजी क्षेत्र–प्राधिकरण सहकार्य अपरिहार्य : विद्युत व्यापार र प्रसारण लाइनमा संयुक्त पहलको प्रस्ताव

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले नेपाल विद्युत प्राधिकरण का कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसँग भेट गर्दै विद्युत व्यापार र प्रसारण लाइन निर्माणमा सहकार्यको प्रस्ताव राखेको छ।

बिहीबार भएको भेटमा इप्पानले निजी क्षेत्र प्रसारण लाइन निर्माणका लागि तयार रहेको र विद्युत व्यापारमा पनि प्राधिकरणसँग मिलेर अघि बढ्न चाहेको उल्लेख गर्दै त्यसका लागि आवश्यक वातावरण निर्माण गर्न आग्रह गरेको हो। निजी क्षेत्र–प्राधिकरण सहकार्यमा निर्माण भइरहेको प्रसारण लाइनहरू छिट्टै सम्पन्न हुने चरणमा पुगेको उल्लेख गर्दै आगामी आयोजनाहरूमा पनि यस्तै मोडल विस्तार गर्न प्रस्ताव गरिएको छ। साथै, प्राधिकरणले स्थापना गरेको विद्युत व्यापार कम्पनीमा निजी क्षेत्रलाई सेयर होल्डरका रूपमा सहभागी गराएर संयुक्त रूपमा व्यापार अघि बढाउन सकिने सुझाव इप्पानले दिएको छ।

इप्पान अध्यक्ष गणेश कार्कीले प्रसारण लाइन अभावका कारण ऊर्जा क्षेत्रमा ठूलो समस्या भोग्नुपरेको बताउँदै निजी क्षेत्र प्राधिकरणसँग सहकार्य गर्न पूर्ण रूपमा तयार रहेको बताए। उनले विद्युत व्यापारका लागि निजी क्षेत्रलाई प्रत्यक्ष अनुमतिपत्र नदिइएसम्म प्राधिकरणको व्यापार कम्पनीमार्फत निजी क्षेत्रको सहभागिता गराएर व्यापार अघि बढाउन सकिने धारणा राखे। साथै, विद्युत खरिद सम्झौता (पीपीए) तत्काल खुला गर्न, आरसीओडी म्याद थप गर्न, कन्टिन्जेन्सी व्यवस्था तथा हाइड्रोलोजी पेनाल्टी खारेज गर्नुपर्ने माग तत्काल सम्बोधन गर्नुपर्नेमा जोड दिए।

इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले निजी क्षेत्र र प्राधिकरण मिलेर अघि बढेमा मात्रै ऊर्जा क्षेत्रको दिगो विकास सम्भव हुने बताए। उपाध्यक्ष उत्तम ब्लोन लामा, महासचिव बलराम खतिवडा र उपमहासचिव प्रकाशचन्द्र दुलाललगायतले पनि प्रसारण लाइनमा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्ने उपयुक्त मोडल ल्याउनुपर्ने आवश्यकता औँल्याए।

कार्यकारी निर्देशक शाक्यले निजी क्षेत्र समयमै प्रसारण लाइन निर्माण गर्न सक्षम रहेको उल्लेख गर्दै निजी क्षेत्र–प्राधिकरण संयुक्त अभ्यास सुरु भइसकेकाले यसलाई अझ अघि बढाउन विकल्प नभएको स्पष्ट पारे। “प्रसारण लाइनको समस्या सबैभन्दा गम्भीर छ। यसकै कारण कन्टिन्जेन्सी लगायतका समस्या देखिएका छन्,” उनले भने, “प्राधिकरणसँग पर्याप्त बजेट नभएको अवस्थामा निजी क्षेत्रको लगानी भित्र्याउन सकिए प्रसारण लाइनको मुख्य समस्या समाधान हुन्छ।”

उनले निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराएर उत्पादन र खपतबीच सन्तुलन कायम गर्नुपर्ने आवश्यकता औँल्याउँदै प्राधिकरणको विद्युत व्यापार कम्पनीमा निजी क्षेत्रको सहभागिताबारे अध्ययन गर्ने जानकारी दिए। साथै, विद्युत व्यापार कम्पनीलाई सक्रिय बनाउने तयारी भइरहेको पनि बताए।

More From Author

स्ट्रक्चरल इन्जिनियर्सहरुकाे ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्नललितपुर, ११ जेठ: स्ट्रक्चरल इन्जिनियर्सहरुकाे लागि ललितपुरमा सञ्चालन भएको ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्न भएको छ।स्ट्रक्चरल इन्जिनियर्स एशोसिएशन नेपाल र नेपाल विल्डिङ इनफरमेशन फोरमको संयुक्त आयोजनामा ललितपुरको च्यासलस्थित हिमालय कलेज अफ इन्जिनियरिङमा सञ्चालित ”निर्माण सूचना प्रणाली’ (वीआइएम) सम्बन्धी चार दिने आधारभूत तालिम आइतबार  सम्पन्न भएको हो।

नेकपा एमाले अध्यक्षमा क. केपी शर्मा ओली भारी मतका साथ विजयी !!

नवनिर्मित पुस्तकालय कक्षको शुभारम्भ बागमती प्रदेशका माननीय पूर्व मन्त्री एवं सांसद रामकृष्ण चित्रकार बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Recent Posts