ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ। महानगरको १०७औँ स्थापना दिवसको अवसर पारेर विशेष कार्यक्रमका बीच योगदानकर्ताहरूलाई सम्मानसहित पुरस्कृत गरिएको 

ललितपुर २०८२ पौष २ -ः ललितपुर महानगरको विकास, समृद्धि र सुशासनमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ। महानगरको १०७औँ स्थापना दिवसको अवसर पारेर विशेष कार्यक्रमका बीच योगदानकर्ताहरूलाई सम्मानसहित पुरस्कृत गरिएको हो।

कार्यक्रममा बोल्दै महानगर प्रमुख चिरीबाबु महर्जनले महानगरको समग्र विकास, सामाजिक रूपान्तरण र नागरिक सेवामा योगदान पुर्‍याउने व्यक्ति तथा संस्थाको सम्मानले सकारात्मक प्रतिस्पर्धा र प्रेरणा थप्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले ललितपुरको पहिचान, संस्कृति, सेवा र पूर्वाधार विकासमा सक्रिय योगदान दिनेहरूलाई कदर गर्नु महानगरको दायित्व भएको बताउनुभयो।

गौरव पुरस्कारबाट कला, साहित्य तथा सामाजिक सेवा तर्फ धर्मलाल महर्जन, खेलकुद (कराते) तर्फ रवि महर्जन, कला तथा नृत्य तर्फ नारायणदेवी प्रधान, चारकोल चित्रकला तर्फ बाबुराज द्यःला, सञ्चार तर्फ नारायण किलम्बु, संस्कृति संरक्षण तथा पर्यटन प्रवर्द्धन तर्फ दिलेन्द्रराज श्रेष्ठ सम्मानित हुनुभयो। यसैगरी विपद् व्यवस्थापन तर्फ सशस्त्र प्रहरी बल, नेपालको दक्षिणकाली गण, ललितपुर तथा ललितपुर चक्रपथ महानगर सरसफाइ अभियानलाई पनि सम्मानसहित नगद पुरस्कार प्रदान गरिएको थियो। पुरस्कृत प्रत्येक व्यक्ति तथा संस्थालाई एक–एक लाख रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको महानगरले जनाएको छ।

कार्यक्रममा पर्वतारोहण क्षेत्रमा देशको नाम उँचो बनाउँदै आएका पर्वतारोही योगेन्द्र महर्जनलाई विशेष सम्मान प्रदान गरिएको थियो।

यसै अवसरमा उत्कृष्ट कर्मचारीलाई पनि पुरस्कृत गरिएको छ। उत्कृष्ट महानगर सेवा पुरस्कारबाट कर्मचारी राजेन्द्रप्रसाद अधिकारी पुरस्कृत हुनुभयो। उहाँलाई ५० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो। त्यस्तै महानगर सेवा पुरस्कारबाट ज्ञानेन्द्रकुमार श्रेष्ठ, किरण राजथला, सरिता महर्जन, सविता थापा, प्रकाश खनाल, लता महर्जन र प्रविणकुमार श्रेष्ठ पुरस्कृत हुनुभयो। उक्त पुरस्कार प्राप्त गर्ने कर्मचारीलाई २५–२५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो।

कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, विभिन्न क्षेत्रका अगुवा तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। महानगरले आगामी दिनमा पनि विकास, सेवा र नवप्रवर्तनमा योगदान दिने व्यक्ति तथा संस्थालाई प्रोत्साहन गर्ने जनाएको छ।

More From Author

उज्यालो नेपाल पार्टीद्वारा ललितपुर जिल्ला तदर्थ समिति गठन

नेकपा एमाले अध्यक्षमा क. केपी शर्मा ओली भारी मतका साथ विजयी !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *