उज्यालो नेपाल पार्टीद्वारा ललितपुर जिल्ला तदर्थ समिति गठन

ललितपुर, १ पुस। उज्यालो नेपाल पार्टीले सूर्यबहादुर तण्डुकारको नेतृत्वमा ललितपुर जिल्ला तदर्थ समिति गठन गरेको छ। पार्टीले मंगलबार ललितपुरको ज्वागलमा आयोजित जिल्ला भेलाबाट रेडियो नेपालका पूर्वनिर्देशक तण्डुकारको संयोजकत्वमा तदर्थ समिति गठन गरेको हो।

पार्टीका केन्द्रीय सदस्य राजाराम तण्डुकारका अनुसार तदर्थ समितिको युवा संयोजकको जिम्मेवारी सुनिल महर्जन र सहसंयोजक युजेश महर्जनलाई दिइएको छ। तदर्थ समितिमा रहने अन्य सदस्यहरूको नाम भने पछि सार्वजनिक गरिने उहाँले जानकारी दिनुभयो।

तदर्थ समिति गठनका लागि आयोजित भेलामा मन्तव्य राख्दै पार्टीका केन्द्रीय सदस्य रामेश्वर श्रेष्ठले मट्टीतेल, चामल, तेल, चिनी लगायतका अत्यावश्यक सामग्री लिन लाइन बस्नुपरेको २०४६ सालको आन्दोलनको स्मरण गर्नुभयो। आन्दोलनबाट स्थापित नेतृत्वले अपेक्षित काम गर्न नसकेको उल्लेख गर्दै उहाँले अब देशको नेतृत्व नयाँ पुस्तालाई सुम्पिनुपर्ने आवश्यकता औंल्याउनुभयो। देशको विकास आशातीत रूपमा हुन नसकेको र वैदेशिक पलायन तीव्र बन्दै जाँदा देश संकटतर्फ धकेलिएको भन्दै उज्यालो नेपाल पार्टीको नेतृत्वमा समृद्धितर्फ अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो।

केन्द्रीय सदस्य श्री गुरुङले पर्यटन, प्रविधि, ऊर्जा र कृषिलाई आधार बनाएर देशलाई समृद्ध बनाउने पार्टीको लक्ष्य रहेको बताउनुभयो। उहाँले नेपाली पासपोर्टको गरिमा बढाउँदै रोजगारीका लागि विदेशिएका युवाहरूलाई स्वदेश फर्काउने गरी पार्टीले काम गर्ने धारणा राख्नुभयो।

केन्द्रीय सदस्य राजाराम तण्डुकारले जनताका हरेक समस्या समाधानमा पार्टी केन्द्रित हुने बताउँदै समावेशी र समानुपातिक विकासलाई प्राथमिकता दिने प्रतिबद्धता जनाउनुभयो।

जेन–जेड आन्दोलनका अभियन्ता तथा पार्टीका केन्द्रीय सदस्य किशोरी कार्कीले सबैलाई व्यवस्थापन र समेट्न सक्ने क्षमता कुलमान घिसिङमा रहेको उल्लेख गर्दै उहाँको नेतृत्वमा देशले निकास पाउन सक्ने बताउनुभयो। आन्दोलनपछि हुन लागेको निर्वाचनमा सही व्यक्ति, नयाँ सोच र नयाँ ऊर्जाका युवाहरूलाई अवसर दिनुपर्नेमा उहाँले जोड दिनुभयो।

केन्द्रीय सदस्य डा. आशुतोष पन्तले विगतमा जनतालाई देखाइएका सपना अनुसार काम हुन नसकेको उल्लेख गर्दै आगामी निर्वाचनबाट काम गर्न सक्ने नयाँ पुस्तालाई नेतृत्वमा स्थापित गर्नुपर्ने धारणा राख्नुभयो। केवल राजनीतिक नारा बेच्ने पुराना नेतृत्वभन्दा युवा जोश, जाँगर र क्षमतालाई उपयोग गर्दै देशलाई दीर्घकालीन हिततर्फ लैजानुपर्ने उहाँको भनाइ थियो।

जेन–जेड आन्दोलनका घाइते परिवारका सदस्य तथा केन्द्रीय सदस्य विद्या पाण्डेले दिगो सरकार निर्माणका लागि उज्यालो नेपाल पार्टी आवश्यक रहेको बताउनुभयो। उहाँले ललितपुरका स्थानीय स्रोत–साधनको उपयोग गरी उत्पादन र निर्यातसमेत सम्भव रहेको उल्लेख गर्नुभयो।

केन्द्रीय सदस्य तुलसा वाइवाले गाउँ–गाउँ र बस्ती–बस्तीसम्म संगठन विस्तार गर्दै काम गरेर देखाउन सक्ने नेतृत्व स्थापित गर्नुपर्नेमा जोड दिनुभयो। भ्रष्टाचार अन्त्य, सुशासन स्थापना र समृद्धि हासिल गर्न पार्टीलाई विजयी गराउन सबै लाग्नुपर्ने उहाँको आग्रह थियो।

बागमती प्रदेश संयोजक प्रविणकुमार तामाङले देशको समृद्धिका लागि नयाँ सोचसहित नयाँ शक्तिका रूपमा उज्यालो नेपाल पार्टी स्थापना भएको बताउनुभयो। १८ घण्टासम्म अन्धकारमा रहेको नेपाललाई उज्यालो दिने नेतृत्वको उदाहरण प्रस्तुत गर्दै उहाँले सोही नेतृत्वमा देशको विकास सम्भव रहेको धारणा राख्नुभयो।

यल नेवा समाजका कोषाध्यक्ष तथा तण्डुकार समाज यलका अध्यक्ष शिवराम तण्डुकारले सुशासन, न्याय र समृद्धिको सपनालाई साकार पार्दै जेन–जेड आन्दोलनको भावनालाई आत्मसात गरेर काम गर्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा पर्यटन व्यवसायी समुद्रमान बज्राचार्य, शाक्य सुरेम र स्मार्ट टेलिकमका पन्नाकाजी महर्जनले कुलमान घिसिङको योगदानबाट प्रेरित भई जन्मिएको पार्टीले देशलाई उज्यालो बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

More From Author

स्ट्रक्चरल इन्जिनियर्सहरुकाे ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्नललितपुर, ११ जेठ: स्ट्रक्चरल इन्जिनियर्सहरुकाे लागि ललितपुरमा सञ्चालन भएको ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्न भएको छ।स्ट्रक्चरल इन्जिनियर्स एशोसिएशन नेपाल र नेपाल विल्डिङ इनफरमेशन फोरमको संयुक्त आयोजनामा ललितपुरको च्यासलस्थित हिमालय कलेज अफ इन्जिनियरिङमा सञ्चालित ”निर्माण सूचना प्रणाली’ (वीआइएम) सम्बन्धी चार दिने आधारभूत तालिम आइतबार  सम्पन्न भएको हो।

ललितपुरमा नेपाल अर्बुद रोग निवारण संस्थाको २५औं वार्षिक साधारण सभा सम्पन्न

ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ। महानगरको १०७औँ स्थापना दिवसको अवसर पारेर विशेष कार्यक्रमका बीच योगदानकर्ताहरूलाई सम्मानसहित पुरस्कृत गरिएको 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Recent Posts