ललितपुर महानगरको वडा नं. ३ मा विषादी परीक्षण केन्द्र संचालन

ललितपुर २०८२ मंसिर १३-ः ललितपुर महानगरपालिका वडा नं. ३ मा अब विक्री वितरण हुने तरकारीमा विषादी प्रयोग भएको–नभएको औपचारिक रूपमा परीक्षण हुने भएको छ। वडाले विषादी परीक्षण केन्द्र संचालनमा ल्याएको हो। उक्त केन्द्रको शुभारम्भ शनिबार ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले गरेका छन्।

उद्घाटन समारोहमा बोल्दै प्रमुख महर्जनले वडा नं. ३ ले वडावासीको स्वास्थ्यप्रति देखाएको संवेदनशीलता प्रशंसनीय रहेको बताए। उनले भने, “स्वास्थ्यलाई प्राथमिकता दिँदै विषादी परीक्षण केन्द्र संचालन गर्नु वडा ३ का लागि महत्वपूर्ण कदम हो। यस्तो कामले सबै स्थानीय तहका लागि राम्रो उदाहरण कायम गरेको छ।”

वडा नं. ३ का वडा अध्यक्ष श्रीगोपाल महर्जनले विषादीयुक्त तरकारी तथा खाद्य पदार्थ सेवनका कारण मानिसमा प्राणघातक रोगको जोखिम बढ्दै गएको उल्लेख गर्दै केन्द्र संचालनमा ल्याइएको बताए।
उनले भने, “वडावासीको स्वास्थ्य सुरक्षा हाम्रो पहिलो दायित्व हो। त्यसैले तरकारीको स्याम्पल सङ्कलन गरी परीक्षण सुरु गरेका छौँ। विषादी प्रयोग पुष्टि भए कानूनअनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ।”

हाल परीक्षण सेवा वडा नं. ३ कै क्षेत्रभित्र सीमित रहने बताए। “धेरै ठाउँबाट माग आएको छ, तर क्षमता विस्तार गरेपछि मात्र अन्य वडालाई सेवा दिन सकिन्छ,” उनले स्पष्ट पारे।

वडाले विषादीमुक्त तरकारी विक्रीका लागि छुट्टै बजार संचालन गर्ने तयारी समेत गरिरहेको जानकारी अध्यक्ष महर्जनले दिए। उनले नागरिकको स्वास्थ्यमा निरन्तर ध्यान दिंदै चेतना अभिवृद्धिका कार्यक्रमलाई पनि वडाले प्राथमिकतामा राखेको बताए।

महानगर प्रमुख चिरीबाबु महर्जनले वडा नं. ३ को सक्रियता र नवप्रयोगको प्रशंसा गर्दै भने, “स्मार्ट सडक बत्ती, हाइमास्ट, साइकल लेन, ‘म्यानमेड ग्रिनरी’ जस्ता काममा जस्तै विषादी परीक्षण केन्द्र संचालन गर्ने कुरामा पनि वडा नं. ३ देशमै पहिलो हुन सफल भयो।”

त्यस्तै, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले वडा नं. ३ को कामलाई नविन र उदाहरणीय बताउँदै स्वास्थ्य सुरक्षाप्रति यसले उच्च प्रतिबद्धता प्रदर्शन गरेको टिप्पणी गरे।

कार्यक्रमकै अवसरमा एसईई 2081 र कक्षा १२ परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरूलाई प्रोत्साहन भत्ता, प्रमाणपत्र र खादा समेत वितरण गरिएको थियो। विद्यार्थीहरूलाई प्रमुख चिरीबाबु महर्जन, वडा अध्यक्ष श्रीगोपाल महर्जन र बोर्ड अध्यक्ष महाश्रम शर्माले संयुक्त रूपमा सम्मान गरेका थिए।

More From Author

इखाछेंमा कल्चरल फेस्टिवल हुंदै

स्यस्यः समाज यल अन्तर्गत नवगठित ईलाका नं. १० को प्रारम्भिक साधारण सभा

Leave a Reply

Your email address will not be published. Required fields are marked *