ललितपुर ।२०८२ मंसिर १-ः

बौद्ध विहार संघ यलका पूर्व अध्यक्ष पुष्परत्न शाक्यले २०६३ सालदेखि निरन्तर रुपमा सचिव, उपाध्यक्ष र अध्यक्ष पद सम्हाल्दै संघको संस्थागत विकास, धर्म–संस्कृति संरक्षण र अन्तर्राष्ट्रिय पहिचान विस्तारमा उल्लेखनीय योगदान पुर्याउँदै आउनुभएको छ।
२०७२ सालको महाभूकम्पले ललितपुरका थुप्रै बौद्ध विहारहरू क्षतिग्रस्त भएपछि उहाँको अग्रसरतामा बिग्रिएका विहारहरूको विस्तृत तथ्यांक संकलन, मर्मत, तथा जीर्णोद्धार अभियान प्रभावकारी ढङ्गले सञ्चालन गरिएको थियो।
धर्मनिरपेक्षता, धार्मिक सद्भाव र बौद्ध संस्कृति संरक्षणका विषयमा केन्द्रित विभिन्न गोष्ठी आयोजना, त्यसका निष्कर्षलाई सरकारसमक्ष आधिकारिक रूपमा प्रस्ताव रूपले पेश गर्ने कार्यमा समेत शाक्यज्यूको नेतृत्व दूरदर्शी मानिन्छ।

संघको AGM भव्य रूपमा सम्पन्न गर्दै उहाँले उपराष्ट्रपति नन्दबहादुर पुन तथा ललितपुरका बाहा–बहीका सबै आजुहरूलाई सम्मान प्रदान गर्नुभएको थियो, जसले बौद्ध धर्मप्रति राष्ट्रिय–सामुदायिक सम्मान र ऐक्यबद्धता सबल बनायो।
अन्तर्राष्ट्रिय क्षेत्रमा पनि सक्रिय भूमिका निभाउँदै, शाक्यज्यूले संघको इतिहासमै पहिलोपटक WAB (World Alliance Buddhist Association) को सदस्यता लिनुभयो र लद्दाख तथा म्यानमारमा सम्पन्न अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनहरूमा सहभागिता जनाएर संघलाई विश्व बौद्ध समुदायसँग जोड्न सफल हुनुभयो।
यसैसँगै, कानून व्यवसायमा क्रियाशील शाक्यज्यूले वकीललगायत २८ जना सहभागीलाई ‘मेलमिलाप तालीम’ दिलाउनुभयो, जसको प्रमाणपत्र सर्वोच्च अदालतका न्यायाधीशद्वारा प्रदान गरिएको थियो। यस कदमले समुदायमा सहमति, संवाद र विवाद समाधान संस्कृतिको वृद्धि गर्न मद्दत पुर्यायो।

नेपाल–श्रीलंका कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औँ वार्षिकीका अवसरमा होटल हिमालयमा आयोजित विशेष समारोहमा उपराष्ट्रपतिसहित उहाँको सक्रिय सहभागिताले दुई देशबीचको बौद्ध सम्पर्क र मैत्री सम्बन्ध अझ प्रगाढ बनायो।
बौद्ध धर्मको प्रचार–प्रसार र संवर्द्धनका लागि उहाँले ललितपुरका ४० वटा मूल विहारहरूमा मासिक रूपमा बज्रयान, थेरवाद र महायान गुरुद्वारा धर्मदेशना सञ्चालन गर्नुभएको छ, जसले स्थानीय समुदायमा बौद्ध अभ्यासलाई गर्दै आएको परम्परालाई सुदृढ बनाएको छ।
यस्तै, उहाँले बौद्ध महिला समूह र बौद्ध युवा समूह गठन गरी शान्ति, सद्भाव र धर्मचेतना प्रवर्द्धनका उद्देश्यले शान्ति दौड, बौद्ध गोष्ठी तथा सेमिनारहरू समेत निरन्तर गर्दै आउनुभएको छ।
संघका अध्यक्ष करुणा रत्न बज्राचार्यले पुष्परत्न शाक्यज्यूले विहार संरक्षण, धर्मप्रचार, अन्तर्राष्ट्रिय सम्पर्क र समुदाय upliftment मा पुर्याउँदै आएको अविस्मरणीय योगदानको उच्च मूल्यांकन गर्दै विशेष सम्मान प्रदान गर्नुभएको हो।
