ललितपुर महानगरद्धारा सुरक्षा निकायलाई विपद् व्यवस्थापन सामग्री हस्तान्तरण

ललितपुर असोज १८ -। ललितपुर महानगरपालिकाले बाढी–पहिरोजस्ता विपद् अवस्थाका बेला प्रयोग गर्न सकिने विभिन्न सामग्रीहरू नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई हस्तान्तरण गरेको छ।

शनिबार आयोजित कार्यक्रमका क्रममा महानगरले डुङ्गा, डोरीलगायत उद्धार र राहतका सामग्री सुरक्षा निकायहरूलाई हस्तान्तरण गरेको हो। हाल देशका विभिन्न स्थानमा अविरल वर्षाका कारण बाढी–पहिरोका घटना बढेका छन् र धेरै क्षेत्र जोखिममा रहेका छन्।

महानगर प्रमुख चिरीबाबु महर्जनले अघिल्लो वर्ष असोजमा भएको अविरल वर्षा र त्यसपछिका बाढी–पहिरोबाट महानगरले धेरै पाठ सिकेको बताए। उनका अनुसार, “हामीले त्यसपछिका अनुभवका आधारमा डुङ्गा लगायत थप सामग्री किन्यौं, जनशक्ति तालिममार्फत तयार गर्यौं,” भन्दै उनले नगरवासीलाई संयमित रहन आग्रह गरे।

महर्जनले हालको लगातारको वर्षाका कारण उद्धार र व्यवस्थापन कार्यमा यी सामग्रीले महत्वपूर्ण सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।

त्यसैगरी प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले स्रोत–साधनको अभावमा विपद्का बेला उद्धार कार्य गर्न कठिनाइ हुने बताउँदै, सुरक्षा निकायलाई उद्धार सामग्री उपलब्ध गराएकोमा महानगरलाई धन्यवाद दिए। उनले भने, “यी सामग्रीहरूले उद्धार र प्रकोप व्यवस्थापनलाई थप चुस्त बनाउनेछन्, यो काम साँच्चै सराहनीय छ।”

घिमिरेले प्राप्त सामग्रीको उचित प्रयोग र संरक्षणमा ध्यान दिन पनि आग्रह गरे। कार्यक्रममा उप–प्रमुख मञ्जली शाक्य बज्राचार्य, तीनवटै सुरक्षा निकायका पदाधिकारीहरू र महानगरका प्रतिनिधिहरूको उपस्थितिमा सामग्री हस्तान्तरण सम्पन्न भएको थियो।

More From Author

इटुम्बहालकी आर्यतारा शाक्य नवकुमारीको रूपमा आसन ग्रहण

Wang Zhuxi

Leave a Reply

Your email address will not be published. Required fields are marked *