ललितपुर भाद्र १४ -ः प्रख्यात लोकगायक रत्न (बेहोसी) बज्राचार्यलाई नेपालरत्न सम्मान प्रदान गरिएको छ । नेवाः साधना कला केन्द्रले उहाँको ९०औं जन्मोत्सवको अवसरमा ललितपुरको ज्यापु प्रज्ञा भवनमा आयोजित ‘नेपालरत्न सम्मान तथा रत्न बेहोसी एकल साँझ’ कार्यक्रममा यो सम्मान अर्पण गरेको हो।

नेपाली र नेपालभाषा दुवैमा बेहोसीले पुर्याएको योगदानलाई उच्च मूल्याङ्कन गर्दै संस्थाका पौभाः साय्मिले बेहोसीलाई ‘नेपालरत्न’ सम्मान अर्पण गरिएको जानकारी दिनुभयो।

यसअघि पनि उहाँलाई ललितरत्न सम्मान र गणेशदेवी स्मृति पुरस्कारबाट सम्मानित गरिएको थियो।
बेहोसीले १२ वर्षको उमेरदेखि नाटक र संगीतको क्षेत्रमा आफ्नो कला प्रस्तुत गर्न थालेका हुन्। विक्रम संवत् २०१० सालदेखि निरन्तर नेपाली तथा नेपालभाषाको गीतसंगीतमा योगदान पुर्याउँदै आउनु भएको छ। उहाँले पहिलो पटक २०१३ सालमा रेडियो नेपालमा स्वर परीक्षण गर्नुभएको थियो, जहाँ १७ जना उम्मेदवारमध्ये एकल गायकका रूपमा सफल हुनु भएको थियो। सोही दिन उहाँको गीत प्रत्यक्ष प्रसारणमार्फत रेडियो नेपालबाट प्रशारण भएको थियो।

उहाँको समयका समकक्षीहरूमा स्वरसम्राट नारायणगोपाल गुरुवाचार्य, प्रेमध्वज प्रधान, नातीकाजी श्रेष्ठ, शिवशंकर मानन्धर, भक्तराज आचार्य जस्ता प्रतिष्ठित संगीत साधक रहेका थिए। यी सबैलाई नेपाली आधुनिक गीतसंगीतका दोस्रो पुस्ताका गायकका रूपमा चिनिन्छ भने, त्यसअघि मास्टर रत्नदास प्रकाश, हरिकृष्ण श्रेष्ठ, बच्चु कैलाशलगायत पहिलो पुस्ताका अग्रज कलाकार मानिन्छन्।
बेहोसीले हालसम्म नेपालभाषामा करिब ५० र नेपालीमा कम्तीमा १० गीत गाइसक्नुभएको छ। उहाँले गाएका रचना तथा गीतहरू मध्ये धेरैजसो आज पनि क्यासेटमा सुरक्षित छन्।