काठमाडौं भाद्र १३ -ः आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा प्रकाशित पुस्तकहरूको लोकार्पण विशेष समारोह राजधानीमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय पृथ्वीसुब्बा गुरुङले आदिवासी जनजातिको भाषा, संस्कृति, परम्परा र इतिहासलाई संरक्षण तथा प्रवर्द्धन गर्न पुस्तक प्रकाशन महत्वपूर्ण योगदान हुने बताउँदै यसको निरन्तरता आवश्यक रहेको धारणा व्यक्त गरे ।

मन्त्री गुरुङले भने, “नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश हो । विविधतामध्ये एकतामा हाम्रो शक्ति निहित छ । आदिवासी जनजातिको मौलिकता र ज्ञानलाई लिपिबद्ध गरी पुस्तकमार्फत भावी पुस्तासम्म पु¥याउनु गौरवको काम हो ।”

यस अवसरमा प्रतिष्ठानका पदाधिकारी, आदिवासी समुदायका बुद्धिजीवी, शिक्षाविद्, समाजसेवी तथा लेखकहरूले पनि मन्तव्य राख्दै पुस्तक प्रकाशनलाई सकारात्मक कदमको रूपमा मूल्याङ्कन गरे । उनीहरूले यसले समुदायको मौलिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा प्रकाशित पुस्तकहरूको विषयवस्तु, महत्व र उपयोगितामाथि छलफल गर्दै वक्ताहरूले अनुसन्धान र दस्तावेजीकरणलाई अझै सबल बनाउन जोड दिए ।


