





ललितपुर । ललितपुर महानगरपालिकाले महानगरका महिला उद्यमीहरूले उत्पादन गरेका सामग्रीलाई सजिलै बजारसम्म पु¥याउन “एलएमसी हाटबजार” मोबाइल एप सार्वजनिक गरेको छ ।

महानगरमा दर्ता भएका महिला उद्यमीले उत्पादन गरेका सामान एपमार्फत राख्न सक्नेछन् भने उपभोक्ताले सोही एपमा लगइन गरी चाहेको सामान अर्डर गर्न सक्ने व्यवस्था मिलाइएको छ । यसअघि महिला उद्यमीहरू उत्पादन गरेर पनि बजार नपाइरहेको समस्या समाधान गर्न यो एप प्रभावकारी हुने विश्वास नगरपालिकाले व्यक्त गरेको छ ।
महानगर प्रमुख चिरीबाबु महर्जनले यसलाई महिला उद्यमीहरूको उत्पादनलाई बजारिकरणमा ल्याउन मद्दत गर्ने महत्वपूर्ण ‘टुल’ को रूपमा प्रस्तुत गर्दै सबै उद्यमीलाई यसको प्रयोग गर्न आग्रह गरे । उनका अनुसार, “उत्पादन छ तर बजार छैन भन्ने समस्या समाधानमा यो एपले ठूलो सहयोग गर्नेछ ।”
उपप्रमुख तथा महिला उद्यमशीलता सहजिकरण केन्द्रकी संयोजक मञ्जली शाक्य बज्राचार्यले उद्यम र व्यवसाय फरक कुरा भएकाले उद्यमीलाई बजारसम्म जोड्न यो एप विशेष उपयोगी हुने बताइन् । उनले भनिन्, “महिला उद्यमीलाई व्यवसाय सञ्चालनमा गाह्रो हुन्छ, तर यो एपले उनीहरूलाई प्रत्यक्ष क्रेतासँग जोड्नेछ, जसले बजार खोज्ने सहजता दिनेछ ।”
महिला शाखा प्रमुख शोभादेवी खरेलले पनि एपमार्फत खरिद–विक्री गर्दा मध्यस्थकर्ताको आवश्यकता नपर्ने, क्रेता–विक्रेताबीच प्रत्यक्ष सम्पर्क हुने र गुणस्तरबारे सोधपुछ गर्न सकिने सुविधा रहने जानकारी दिइन् ।
त्यस्तै, काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (KUSOM) का डा. विनोद कृष्ण श्रेष्ठले महानगरले उद्यमशीलतालाई प्रवर्द्धन गर्दै एप सार्वजनिक गरेकोमा धन्यवाद व्यक्त गर्दै यसले उत्पादनको बजारिकरणमा महत्वपूर्ण सहयोग गर्ने धारणा राखे ।
एप सार्वजनिक समारोहपछि उद्यमशीलता सम्बन्धी जानकारी दिन अभिमुखीकरण कार्यक्रमसमेत आयोजना गरिएको छ ।