हरितालिका तीज पर्व : शिवभक्त महिलाहरूको श्रद्धा र उपवास

काठमाडौं भाद्र १० — ः आज भाद्र शुक्ल तृतीयाका दिन नेपालभर हिन्दू महिलाहरूले हरितालिका तीज पर्व श्रद्धापूर्वक मनाइरहेका छन्। देवादिदेव महादेवको पूजा–आराधनासहित निराहार, जलाहार वा फलाहार व्रत बसेर महिलाहरूले यो पर्व मनाइरहेका हुन्।

पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयहरूमा आज बिहानैदेखि भक्तजनहरूको उल्लेख्य भीड लागेको छ। भक्तजनको सुविधाका लागि पशुपतिनाथ मन्दिरका चारवटै ढोका बिहान ३ बजेदेखि नै खुला गरिएको गुठी संस्थानले जनाएको छ।

धार्मिक मान्यताअनुसार, यो व्रतले सुख, शान्ति र कल्याण प्रदान गर्छ। विवाहित महिलाले पतिको दीर्घायु र अविवाहित महिलाले सुयोग्य वरको कामना गर्दै व्रत बस्ने परम्परा रहेको छ। साथै, पुरुषहरूले पनि यो व्रत बस्न सक्ने उल्लेख स्कन्धपुराणमा पाइन्छ।

पौराणिक कथनअनुसार, सत्ययुगमा हिमालय पुत्री पार्वतीले कठोर तपस्या गरेर महादेवलाई पति रूपमा प्राप्त गरेकी थिइन्। उनलाई साथीहरूले हरण गरेर सुरक्षित स्थानमा राखेको प्रसंगकै कारण यो पर्वको नाम ‘हरितालिका’ (हरित = हरण, आलिका = साथी) रहन गएको मानिन्छ।

व्रतमा स्वास्थ्यअनुसार फलफूल, जल वा केही नखाई बस्न सकिने उल्लेख गरिन्छ। आवश्यकता परे औषधि सेवन गर्दा व्रत भङ्ग नहुने स्कन्धपुराणमा उल्लेख गरिएको छ।

More From Author

ललितपुर महानगरपालिका वडा नं. ५ द्वारा तीज विशेष जनचेतनामूलक कार्यक्रम सम्पन्न

नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालययातायात व्यवस्था विभाग मीनभवन, काठमाण्डौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *