सिन्धुपाल्चोक, असार १८ — माउन्टेन हेलिकप्टर कम्पनीले चीनबाट हेलिकप्टर स्थलगत मार्ग प्रयोग गरी नेपाल भित्र्याएको छ। बुधबार साँझ तातोपानी भन्सार नाका आइपुगेको उक्त हेलिकप्टर अहिले भन्सार जाँचपासको प्रक्रियामा रहेको छ।
हेलिकप्टर कम्पनीका कर्पोरेट म्यानेजर रामचन्द्र भुसालले जानकारी दिएअनुसार उडाएर ल्याउनभन्दा स्थलगत मार्ग सहज भएकोले हेलिकप्टर लरीमार्फत ल्याइएको हो।
भुसालले भने, ‘उडाएर ल्याउँदा धेरै प्रान्तहरूबाट अनुमति लिनुपर्ने हुँदो रहेछ। बाटो सहज भएकोले लरीमा ल्याउँदा सजिलो भयो।’
चीनको सान्छी प्रान्तबाट ल्याइएको यो हेलिकप्टर ७ दिनको यात्रापछि नेपाल आइपुगेको हो। उत्पादक कम्पनी सान्छी ह्वाउतुफाङ्क टेक्नोलोजी प्रा.लि. रहेको बताइएको छ।
तातोपानी भन्सारका सूचना अधिकृत सूर्य काफ्लेका अनुसार हेलिकप्टरको मूल्याङ्कनअनुसार करिब चार करोड १२ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरिनेछ।
उनका अनुसार, ‘प्राविधिक टोलीले हेलिकप्टरको अवस्था परीक्षण गरेपछि एक–दुई दिनभित्र भन्सार जाँचपास हुनेछ र त्यसपछि हेलिकप्टर काठमाडौं उडाइनेछ।’