
ललितपुर, असार २५ —ः यात्रुको सुरक्षा र सडक अनुशासनलाई थप प्रभावकारी बनाउने उद्देश्यले ललितपुर महानगरपालिकाले जावलाखेलमा निर्माण गरिरहेको ‘स्मार्ट सेफ्टी ब्यारियर’ को गृहमन्त्री सुदन गुरुङ, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन तथा प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले संयुक्त रूपमा निरीक्षण गरेका छन्।




निरीक्षणका क्रममा टोलीले ब्यारियरको संरचना, सञ्चालन प्रणाली, पैदलयात्रीको सुरक्षित आवागमन, सवारी व्यवस्थापन तथा सडक अनुशासनमा यसले पुर्याउने प्रभावबारे जानकारी लिएको थियो। महानगरका प्राविधिक टोलीले ब्यारियरको कार्यप्रणाली, जडान प्रक्रिया र सञ्चालनपछि अपेक्षित उपलब्धिबारे प्रस्तुति दिएका थिए।
महानगरपालिकाका अनुसार ‘स्मार्ट सेफ्टी ब्यारियर’ सञ्चालनमा आएपछि पैदलयात्रीले तोकिएको स्थानबाट मात्रै सुरक्षित रूपमा सडक पार गर्न सक्ने व्यवस्था हुनेछ। यसले अव्यवस्थित सडक पार गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्दै सवारी साधनको आवागमनलाई थप व्यवस्थित बनाउने र दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले आधुनिक प्रविधिको प्रयोगमार्फत सडक सुरक्षा सुदृढ बनाउने महानगरको प्रयास सराहनीय रहेको उल्लेख गर्दै यस्ता पूर्वाधारले नागरिकको सुरक्षासँगै ट्राफिक व्यवस्थापनलाई पनि प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।
मेयर चिरीबाबु महर्जनले ललितपुरलाई सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री सहर बनाउने अभियानअन्तर्गत ‘स्मार्ट सेफ्टी ब्यारियर’ निर्माण गरिएको जानकारी दिए। उनले आगामी दिनमा आवश्यक स्थानमा यस्ता प्रविधिमैत्री पूर्वाधार विस्तार गर्दै सडक सुरक्षा र नागरिकमैत्री यातायात व्यवस्थापनलाई थप मजबुत बनाइने बताए।
निरीक्षणका क्रममा विशेष सुरक्षा व्यवस्थाका कारण सर्वसाधारणको आवागमनमा अवरोध सिर्जना नगरिएको तथा ट्राफिक सञ्चालनलाई प्रभावित नपार्दै कार्यक्रम सम्पन्न गरिएको थियो।

