काठमाडौं, असार २१ । राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे) नेपालले सूचना तथा सञ्चार मन्त्रालयको सहयोगमा आयोजना गरेको तीनदिने फोटोपत्रकारिता तालिम सफलतापूर्वक सम्पन्न भएको छ। असार १९ देखि २१ गतेसम्म काठमाडौंस्थित द ब्रिटिस कलेज, थापाथलीमा सञ्चालन गरिएको तालिममा देशभरका विभिन्न सञ्चारमाध्यममा कार्यरत फोटोपत्रकार, पत्रकार तथा फोटोग्राफी क्षेत्रमा रुचि भएका ६० जनाको सहभागिता रहेको थियो।
कार्यक्रम संयोजक तथा संस्थाका महासचिव घनश्याम श्रेष्ठका अनुसार तालिमको मुख्य उद्देश्य फोटोपत्रकारहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्नु, समाचार तस्बिरको गुणस्तर सुधार गर्नु तथा फोटो क्याप्सन लेखन, फोटो सम्पादन, दृश्य कथन (भिजुअल स्टोरीटेलिङ) र डिजिटल प्रविधिको प्रभावकारी प्रयोगबारे सहभागीलाई व्यावहारिक तथा सैद्धान्तिक ज्ञान प्रदान गर्नु रहेको थियो। साथै फोटोपत्रकारिताको आचारसंहिता, नैतिकता र उत्तरदायित्वबारे समेत विशेष प्रशिक्षण दिइएको थियो।
तीन दिनसम्म सञ्चालन भएको तालिममा फोटोपत्रकारिताको इतिहास र विकासक्रम, समाचार मूल्यका आधारमा तस्बिर छनोट, प्रभावकारी फोटो क्याप्सन लेखन, दृश्य कथन, फोटो सम्पादन, प्रकाश व्यवस्थापन, क्यामरा सञ्चालन तथा सेटिङ, ब्रेकिङ न्युज कभरेज, फिल्ड रिपोर्टिङ, फोटो समीक्षालगायत विषयमा विस्तृत प्रशिक्षण प्रदान गरिएको थियो। तालिममा वरिष्ठ फोटोपत्रकार तथा प्रशिक्षक सुनील सी. वज्राचार्य र राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे) नेपालका अध्यक्ष प्रदीपराज वन्तले सहजीकरण गरेका थिए।
समापन समारोहमा संस्थाका पूर्वअध्यक्ष तथा वरिष्ठ फोटोपत्रकार मिनरत्न वज्राचार्य प्रमुख अतिथिका रूपमा सहभागी भई प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरे। सो अवसरमा उनले फोटोपत्रकारिता केवल तस्बिर खिच्ने माध्यम मात्र नभई समाजका यथार्थ घटनालाई जिम्मेवार ढंगले अभिलेखीकरण गर्ने सशक्त पत्रकारिताको विधा भएको उल्लेख गर्दै यस्ता सीपमूलक तालिमले फोटोपत्रकारहरूको व्यावसायिक दक्षता, सिर्जनशीलता र जिम्मेवारीबोधलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे।
तालिम अवधिभर सहभागीहरूले सैद्धान्तिक अध्ययनसँगै व्यावहारिक अभ्यास, समूह छलफल, फिल्ड फोटोग्राफी तथा फोटो विश्लेषणमा सक्रिय सहभागिता जनाएका थिए। अन्तिम दिन सहभागीहरूले खिचेका समाचार तस्बिरहरूको समीक्षा, मूल्याङ्कन तथा सुधारका उपायबारे प्रशिक्षकहरूले विस्तृत सुझाव दिएका थिए।
कार्यक्रममा संस्थाका अध्यक्ष प्रदीपराज वन्तले क्षमता अभिवृद्धिमूलक यस्ता कार्यक्रमले नेपाली फोटोपत्रकारिताको गुणस्तर वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै आगामी दिनमा पनि निरन्तर यस्ता तालिम सञ्चालन गरिने बताए। उनले बदलिँदो सञ्चार प्रविधिसँग फोटोपत्रकारहरूलाई अद्यावधिक गराउँदै अन्तर्राष्ट्रिय स्तरको दक्ष जनशक्ति उत्पादन गर्न संस्था प्रतिबद्ध रहेको स्पष्ट पारे।
कार्यक्रम निर्देशक लेखबहादुर श्रेष्ठ ‘सागर’का अनुसार सम्पन्न तालिमले सहभागीहरूको ज्ञान, सीप तथा व्यावसायिक दक्षता अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्याएको छ। उनले भविष्यमा कृत्रिम बुद्धिमत्ता (एआई), ड्रोन फोटोग्राफी, भिडियोग्राफी, मोबाइल जर्नालिज्म तथा एडभान्स फोटोग्राफीसम्बन्धी विशेष तालिमहरू अझ व्यापक सहभागितासहित सञ्चालन गर्ने संस्थाको योजना रहेको जानकारी दिए।
तीनदिने तालिमले सहभागीहरूलाई आधुनिक फोटोपत्रकारिताका सिद्धान्त, प्रविधि र व्यवहारिक अभ्यासबारे नयाँ अनुभव दिलाएको सहभागीहरूले बताएका छन्। उनीहरूले प्राप्त ज्ञान र सीपलाई आफ्नो व्यावसायिक कार्यक्षेत्रमा प्रयोग गर्दै समाचारको विश्वसनीयता र दृश्य गुणस्तर अभिवृद्धिमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
