ललितपुर, असार १२ — ललितपुर महानगरपालिका वडा नं. ४ भनिमण्डलस्थित ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको श्री रातो मच्छिन्द्रनाथको बत्ती बाल्ने पाटी पुनर्निर्माण सम्पन्न भएको छ। ललितपुर महानगरपालिका वडा नं. ४ कार्यालयको पहलमा पुनर्निर्माण गरिएको उक्त पाटीको उद्घाटन ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले गर्नुभयो।
वि.सं. १९९४ अगाडि तत्कालीन प्रधानमन्त्री **जुद्ध शमशेर जङ्गबहादुर राणा**को पालामा स्वर्गीय **मेजर नरबहादुर खड्का**द्वारा निर्माण गरिएको उक्त पाटी श्री रातो मच्छिन्द्रनाथको रथयात्राका अवसरमा बत्ती बाल्ने परम्परासँग जोडिएको ऐतिहासिक संरचना हो। समयक्रमसँगै जीर्ण भई अस्तित्व नै मासिँदै गएको पाटीलाई यसको मौलिक स्वरूप जोगाउने उद्देश्यका साथ पुनः निर्माण गरिएको वडा कार्यालयले जनाएको छ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि मेयर चिरीबाबु महर्जनले ललितपुरको पहिचान यसको सम्पदा, संस्कृति र परम्परामा निहित रहेको उल्लेख गर्दै यस्ता ऐतिहासिक संरचनाको संरक्षण गर्नु स्थानीय सरकारको महत्वपूर्ण दायित्व भएको बताउनुभयो। उहाँले मौलिक सम्पदाको संरक्षण र पुनर्जीवनमार्फत भावी पुस्तालाई इतिहास हस्तान्तरण गर्न महानगर प्रतिबद्ध रहेको धारणा राख्नुभयो।
कार्यक्रममा ललितपुर महानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष सन्तोष खड्काले ऐतिहासिक महत्व बोकेको पाटी समयसँगै लोप हुने अवस्थामा पुगेपछि यसको संरक्षणका लागि वडा कार्यालयले पुनर्निर्माणको पहल गरेको जानकारी दिनुभयो। उहाँले स्थानीय समुदायको सहयोग र सहभागिताले सम्पदा संरक्षण अभियानलाई थप प्रभावकारी बनाएको उल्लेख गर्दै आगामी दिनमा पनि वडाभित्र रहेका पुरातात्त्विक तथा सांस्कृतिक सम्पदाको संरक्षणलाई निरन्तरता दिइने बताउनुभयो।
कार्यक्रममा स्थानीय बासिन्दा, समाजसेवी, जनप्रतिनिधि तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले ऐतिहासिक सम्पदाको संरक्षणमा वडा कार्यालयले खेलेको भूमिकाको प्रशंसा गर्दै यस्ता पहलले स्थानीय इतिहास, संस्कृति र परम्पराको संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।
श्री रातो मच्छिन्द्रनाथसँग सम्बन्धित धार्मिक तथा सांस्कृतिक परम्पराको अभिन्न अंगका रूपमा रहेको ‘बत्ती बाल्ने पाटी’को पुनर्निर्माणसँगै भनिमण्डल क्षेत्रको ऐतिहासिक पहिचान पुनः स्थापित भएको स्थानीयवासीले बताएका छन्।
