
ललितपुर, असार ७ । “संस्कृति र वाणिज्यलाई जोड्ने” मूल नाराका साथ ललितपुरमा अन्तर्राष्ट्रिय योग दिवस उत्साहपूर्वक मनाइएको छ। बिहान ७ बजेबाट सुरु भएको कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्व, व्यवसायी, सामाजिक अगुवा तथा योगप्रेमीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागीहरूले सामूहिक रूपमा योग अभ्यास गर्दै योगले शारीरिक, मानसिक तथा आध्यात्मिक स्वास्थ्यमा पुर्याउने सकारात्मक प्रभावबारे जानकारी प्राप्त गरेका थिए। योग दिवसको अवसरमा आयोजित उक्त कार्यक्रमले स्वस्थ जीवनशैलीको प्रवर्द्धनसँगै समाजका विभिन्न क्षेत्रबीच सहकार्य र समन्वयको सन्देश दिएको आयोजकले जनाएको छ।
कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्य, ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष विश्वराज बज्राचार्य तथा महासचिव भूमिनन्दन कर्माचार्य लगायतको विशेष सहभागिता रहेको थियो।

समापन समारोहमा बोल्दै उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले योग नेपाली जीवनपद्धति, संस्कृति र सभ्यतासँग गहिरो रूपमा जोडिएको विषय भएको बताउँदै स्वस्थ समाज निर्माणका लागि योगलाई दैनिक जीवनको अभिन्न हिस्सा बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले शारीरिक तन्दुरुस्तीका साथै मानसिक शान्ति र सकारात्मक सोचको विकासका लागि योग प्रभावकारी माध्यम भएको उल्लेख गर्नुभयो।
त्यसैगरी, ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष विश्वराज बज्राचार्यले व्यवसायिक व्यस्तताबीच पनि स्वास्थ्यप्रति सचेत रहन योग अपरिहार्य रहेको बताउनुभयो। उहाँले स्वस्थ नागरिक र स्वस्थ व्यवसायिक वातावरण निर्माणका लागि यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो।

महासचिव भूमिनन्दन कर्माचार्यले योगले व्यक्तिको आत्मविश्वास, अनुशासन र कार्यक्षमता अभिवृद्धि गर्ने उल्लेख गर्दै संस्कृति, स्वास्थ्य र आर्थिक गतिविधिबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन योग दिवसले सकारात्मक सन्देश दिएको बताउनुभयो।
कार्यक्रममा सहभागीहरूले योगलाई नियमित अभ्यासका रूपमा अपनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। संस्कृति, स्वास्थ्य र वाणिज्य क्षेत्रलाई एकै सूत्रमा बाँध्दै सम्पन्न भएको अन्तर्राष्ट्रिय योग दिवसले स्वस्थ, समुन्नत र सकारात्मक समाज निर्माणतर्फ प्रेरणा प्रदान गरेको सहभागीहरूको भनाइ थियो।
