
ललितपुर, असार ६ । ललितपुर चेम्बर अफ कमर्शको आयोजनामा श्री करुणामय (मच्छिन्द्रनाथ, मीननाथ) को प्रसाद ग्रहण कार्यक्रम श्रद्धा, भक्ति साथ सम्पन्न भएको छ।
ललितपुरको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको श्री करुणामयको रथयात्रा सम्पन्न भएपश्चात आयोजित प्रसाद ग्रहण कार्यक्रममा ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्र.जि.अ.) नरहरि घिमिरे, जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) तुल बहादुर कार्की, ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्य, ललितपुर चेम्बर अफ कमर्शका अध्यक्ष पुष्परत्न शाक्य लगायत सरकारी निकायका प्रतिनिधि, व्यवसायी, समाजसेवी तथा विभिन्न संघ–संस्थाका पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा उपस्थित अतिथिहरूले श्री करुणामयको प्रसाद ग्रहण गर्दै देशमा शान्ति, समृद्धि, सहकाल तथा नागरिकहरूको सुख–समृद्धिको कामना गरेका थिए। वक्ताहरूले करुणामय मच्छिन्द्रनाथको जात्रा केवल धार्मिक आस्थासँग मात्र नभई ललितपुरको सभ्यता, संस्कृति र सामुदायिक एकताको प्रतीकका रूपमा स्थापित रहेको उल्लेख गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले ललितपुरको मौलिक संस्कृति र परम्पराको संरक्षणमा स्थानीय समुदायको भूमिका प्रशंसनीय रहेको बताउँदै यस्ता सांस्कृतिक गतिविधिले सामाजिक सद्भाव र एकतालाई थप मजबुत बनाउने धारणा व्यक्त गरे।
त्यसैगरी जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक तुल बहादुर कार्कीले धार्मिक तथा सांस्कृतिक पर्वहरूलाई सुरक्षित, व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गराउन सुरक्षा निकाय सदैव प्रतिबद्ध रहेको बताउँदै समुदाय र सुरक्षाकर्मीबीचको सहकार्यले यस्ता कार्यक्रमहरू सफल हुने बताए।


ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले करुणामयको जात्रा र यससँग जोडिएका परम्पराहरू ललितपुरको अमूल्य सांस्कृतिक सम्पत्ति भएको उल्लेख गर्दै यसको संरक्षण र प्रवर्द्धनमा महानगरपालिका निरन्तर सक्रिय रहने बताइन्।
कार्यक्रमका आयोजक तथा ललितपुर चेम्बर अफ कमर्शका अध्यक्ष पुष्परत्न शाक्यले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा निजी क्षेत्रको पनि महत्वपूर्ण दायित्व रहेको उल्लेख गर्दै करुणामयको प्रसाद ग्रहण कार्यक्रमले व्यवसायिक समुदाय र समाजबीचको सम्बन्धलाई अझ प्रगाढ बनाएको बताए।

श्री करुणामय (मच्छिन्द्रनाथ/मीननाथ) लाई वर्षा, सहकाल र करुणाका देवताका रूपमा श्रद्धापूर्वक पूजा गर्ने परम्परा रहिआएको छ। ललितपुरको पहिचानसँग गाँसिएको यस पर्वले धार्मिक आस्था, सांस्कृतिक निरन्तरता र सामुदायिक एकताको सन्देश प्रवाह गर्दै आएको छ।
कार्यक्रमको अन्त्यमा उपस्थित सम्पूर्ण अतिथि तथा भक्तजनहरूलाई प्रसाद वितरण गरिएको थियो। आयोजक ललितपुर चेम्बर अफ कमर्शले यस्ता कार्यक्रमहरूले सांस्कृतिक सम्पदाको संरक्षण तथा पुस्तान्तरणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।
