ललितपुरमा ‘LMC ई–चालान डिजिटल जरिवाना व्यवस्थापन प्रणाली’ शुभारम्भ

ललितपुर, असार १५ । ललितपुर महानगरपालिकाले जरिवाना संकलन तथा व्यवस्थापन प्रक्रियालाई आधुनिक, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यका साथ “LMC ई–चालान डिजिटल जरिवाना व्यवस्थापन प्रणाली” को शुभारम्भ गरेको छ।

महानगरपालिकामा आयोजित कार्यक्रममा प्रमुख अतिथि ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन तथा विशेष अतिथि उपप्रमुख मञ्जली शाक्य वज्राचार्यले संयुक्त रूपमा प्रणालीको उद्घाटन गर्नुभएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख महर्जनले डिजिटल प्रविधिको प्रयोगमार्फत नागरिकलाई सहज, छिटो र झन्झटरहित सेवा प्रदान गर्ने महानगरको अभियानअन्तर्गत ई–चालान प्रणाली सञ्चालनमा ल्याइएको बताउनुभयो। उहाँले यस प्रणालीले जरिवाना व्यवस्थापनलाई थप पारदर्शी, विश्वसनीय र उत्तरदायी बनाउने विश्वास व्यक्त गर्नुभयो।

उपप्रमुख मञ्जली शाक्य वज्राचार्यले डिजिटल शासन प्रणालीलाई सुदृढ गर्दै नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकता दिइएको उल्लेख गर्नुभयो। उहाँले ई–चालान प्रणालीले समय, लागत र प्रशासनिक प्रक्रियालाई सरल बनाउँदै सेवाग्राही तथा महानगर दुवैलाई लाभ पुग्ने बताउनुभयो।

नयाँ प्रणालीमार्फत अब जरिवाना तिर्न बैंक धाउनुपर्ने, लाइनमा बस्नुपर्ने वा कागजी भौचर भर्नुपर्ने बाध्यता हटेको छ। सेवाग्राहीले आफ्नो मोबाइल फोनबाटै QR कोड स्क्यान गरी eSewa, Khalti, ConnectIPS तथा विभिन्न बैंकका मोबाइल बैंकिङ एपमार्फत तत्काल भुक्तानी गर्न सक्नेछन्। भुक्तानी सम्पन्न भएलगत्तै डिजिटल रसिद प्राप्त हुने व्यवस्था गरिएको छ।

महानगरका अनुसार ई–चालान प्रणालीमार्फत संकलित रकम सिधै ललितपुर महानगरपालिकाको खातामा जम्मा हुने भएकाले वित्तीय पारदर्शिता कायम हुने र अनियमितता तथा भ्रष्टाचारको सम्भावना न्यून हुने अपेक्षा गरिएको छ। साथै जरिवानाको विवरण तत्काल अद्यावधिक हुने भएकाले सरकारी कामकाज अझ व्यवस्थित र प्रभावकारी बन्ने विश्वास लिइएको छ।

कार्यक्रममा ई–चालान प्रणाली सञ्चालनका लागि प्रयोग हुने HCCTG POS उपकरणको समेत प्रदर्शन गरिएको थियो। स्क्यानर, प्रिन्टर र एन्ड्रोइड ट्याब्लेट एकीकृत रहेको उक्त उपकरणले QR, NFC तथा मोबाइल वालेटमार्फत छिटो भुक्तानी लिन सक्ने क्षमता राख्छ। हलुका तथा सहज रूपमा बोक्न मिल्ने उक्त उपकरण 4G, Wi-Fi र Bluetooth नेटवर्क सपोर्टयुक्त रहेको छ।

त्यसैगरी ८० मिलिमिटर प्रति सेकेन्डको उच्च गतिको प्रिन्टिङ सुविधा, लामो ब्याट्री ब्याकअप तथा धुलो र सामान्य पानीका छिटाबाट सुरक्षित रहने मजबुत बनावटका कारण यो उपकरण कार्यालयभित्र तथा बाहिर दुवै स्थानमा प्रभावकारी रूपमा प्रयोग गर्न सकिने जनाइएको छ।

महानगरपालिकाले डिजिटल प्रविधिको अधिकतम प्रयोग गर्दै नागरिकलाई सहज, सुरक्षित र आधुनिक सेवा उपलब्ध गराउने अभियानलाई आगामी दिनमा अझ विस्तार गर्ने जनाएको छ।

More From Author

50-day Artificial Intelligence-based Digital Marketing Training Completion Program Lalitpur Metropol

Leave a Reply

Your email address will not be published. Required fields are marked *