ललितपुर, जेष्ठ ३० — बौद्ध युवा कमिटी ललितपुरले ललितपुर महानगरपालिकाको संस्कृति, पर्यटन तथा उद्योग समितिसँगको सहकार्यमा सञ्चालन गरेको बौद्ध जागरण शिविर शनिबार सम्पन्न भएको छ।

पाटन दरबार क्षेत्रस्थित भण्डारखाल बगैंचामा रहेको सत्यमोहन जोशी सभाहलमा आयोजित समापन समारोहको उद्घाटन ललितपुर महानगरपालिका संस्कृति, पर्यटन तथा उद्योग समिति सदस्य तथा वडा नं. ६ का अध्यक्ष रूपेन्द्रराज शाक्यले गर्नुभयो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै शाक्यले तथागत गौतम बुद्धको व्यावहारिक, वैज्ञानिक तथा मानवतावादी शिक्षालाई युवापुस्ता र समुदायसम्म पुर्याउन यस्ता शिविर प्रभावकारी माध्यम बनेको बताउनुभयो। उहाँले बौद्ध दर्शनले समाजमा शान्ति, सद्भाव र सकारात्मक सोचको विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो।
तीन दिनसम्म सञ्चालन भएको शिविरको पहिलो दिन जयमनोहर महाविहार (सुभहाल) मा आयोजना गरिएको थियो भने दोस्रो र तेस्रो दिनका कार्यक्रम पाटन दरबार क्षेत्रमा सम्पन्न भएका थिए। पहिलो दिन जयमनोहर महाविहार ज्ञानमाला भजन खलः तथा श्री चिरञ्जीवी ज्ञानमाला भजन खलःले ज्ञानमाला भजन प्रस्तुत गरेका थिए।
शिविरमा भिक्षु कौण्डन्य महास्थविर, बौद्धिचर्या नेपालका अध्यक्ष अनिल शाक्य तथा बौद्ध व्यक्तित्वहरू विश्वन्तर शाक्य र सुनील महर्जनले विभिन्न विषयमा प्रशिक्षण तथा प्रवचन दिनुभएको थियो।
बौद्ध युवा कमिटी ललितपुरका अध्यक्ष सतिश शाक्यका अनुसार शिविरबाट करिब ३ सय जना प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। युवाहरूमा बौद्ध दर्शन, नैतिक शिक्षा र मानव मूल्यप्रति जागरण ल्याउने उद्देश्यले शिविर आयोजना गरिएको उहाँले बताउनुभयो।
कार्यक्रममा बौद्ध समुदायका अगुवा, स्थानीयवासी, युवा तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
