
जिल्ला प्रशासन कार्यालय, ललितपुरमा आयोजित कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूले जिल्लाको शान्ति सुरक्षा, सार्वजनिक सेवा प्रवाह, ट्राफिक व्यवस्थापन, अव्यवस्थित सहरीकरण, सार्वजनिक जग्गा संरक्षण, व्यवसायिक वातावरण तथा स्थानीय तहसँगको समन्वय लगायतका विषयमा आफ्ना धारणा तथा सुझाव प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी घिमिरेले पत्रकारिता क्षेत्रले समाजलाई सही सूचना प्रवाह गर्ने महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहेको उल्लेख गर्दै तथ्यमा आधारित भएर समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो । उहाँले “लेख्दाखेरी तथ्यमा बसेर लेख्नुस्” भन्दै सत्य र प्रमाणमा आधारित पत्रकारिताले प्रशासनलाई पनि सही ढंगले काम गर्न सहयोग पुग्ने बताउनुभयो ।
उहाँले ललितपुर जिल्लामा रहेका सबै सरकारी निकाय, स्थानीय तह, सुरक्षा निकाय, व्यवसायिक संघसंस्था तथा सरोकारवालासँग समन्वय र छलफल गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “क्षमता र कानुनले भ्याएसम्म नागरिकको पक्षमा काम गर्छु,” उहाँले भन्नुभयो ।

प्रमुख जिल्ला अधिकारी घिमिरेले जिल्ला प्रशासन कार्यालय, ललितपुरको नेतृत्व सम्हाल्दै जिल्लाको शान्ति सुरक्षा, सुशासन, सेवा प्रवाह तथा प्रशासनिक कार्यलाई प्रभावकारी, पारदर्शी र जनमैत्री बनाउने आफ्नो प्राथमिकता रहेको बताउनुभयो । साथै उहाँले नागरिकका गुनासा सुन्ने, सेवा प्रवाहलाई छिटोछरितो बनाउने तथा विभिन्न निकायबीच सहकार्य र समन्वयलाई सुदृढ बनाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा सहभागी पत्रकारहरूले नयाँ प्रमुख जिल्ला अधिकारीसँग खुला संवाद र सहकार्यको अपेक्षा व्यक्त गर्दै जिल्लाको विकास, सुशासन र नागरिक हितका विषयमा प्रशासनसँग निरन्तर सहकार्य रहने बताएका थिए ।
