गोदावरी–३ बालमैत्री वडा घोषणा, नगर नै बालमैत्री स्थानीय तहतर्फ अग्रसर

ललितपुर, ६ चैत । गोदावरी नगरपालिका वडा नं. ३ लाई बालमैत्री वडा घोषणा गरिएको छ। “सम्मानित बालापन–सुनिश्चित बालअधिकार, बालमैत्री तथा समुन्नत गोदावरीको आधार” भन्ने नाराका साथ बिहीबार आयोजित कार्यक्रममा वडा बालमैत्री घोषणा गरिएको हो।

कार्यक्रममा जिल्ला समन्वय समिति ललितपुर का प्रमुख ऋषिदेव फूँयाल ले वडा घोषणा नगरपालिकालाई नै बालमैत्री स्थानीय तह घोषणा गर्ने दिशातर्फ महत्वपूर्ण कदम भएको बताए। उनले संविधान २०७२ ले सुनिश्चित गरेको बालअधिकार कार्यान्वयनमा गोदावरी नगरपालिकाले उल्लेखनीय भूमिका निर्वाह गरेको उल्लेख गर्दै अधिकार सुनिश्चितताका लागि प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए।

नगरप्रमुख गजेन्द्र महर्जन ले नगरभित्र सुरक्षित वातावरण सिर्जना गर्दै विकास निर्माणलाई अघि बढाइने जानकारी दिए। उनले बाँकी दुई वडालाई पनि यसै महिनाभित्र बालमैत्री घोषणा गर्ने र आगामी महिनामा नगरपालिकालाई नै बालमैत्री स्थानीय तह घोषणा गर्ने लक्ष्य रहेको बताए। साथै, बालश्रम र बालविवाहमुक्त स्थानीय तह सुनिश्चित गर्न अनुगमनलाई तीव्रता दिइने प्रतिबद्धता जनाए।

कार्यक्रममा राष्ट्रिय बालअधिकार परिषद का उपाध्यक्ष बमबहादुर बानियाँ ले नेपालले अन्तर्राष्ट्रिय बालअधिकार अभिसन्धिमा हस्ताक्षर गर्नुका साथै संविधानमा पनि बालअधिकार सुनिश्चित गरेको स्मरण गराउँदै बालमैत्री स्थानीय शासनको महत्वबारे प्रकाश पारे। उनले राष्ट्रिय सूचकहरू पूरा गरिएकै आधारमा वडा घोषणा गरिएको उल्लेख गरे।

उपप्रमुख मुना अधिकारी ले बालबालिकालाई आफ्नो अधिकारबारे सचेत रहन र स्थानीय विकासमा खबरदारी गर्न आग्रह गरिन्। उनले सामाजिक सञ्जालको दुरुपयोगले अभिभावक–बालबालिका सम्बन्ध कमजोर बन्न सक्ने भन्दै सचेतना आवश्यक रहेको औंल्याइन्।

त्यसैगरी, बडीगार्ड गाउँपालिका का अध्यक्ष गण्डकी थापा ले गोदावरी नगरपालिकाले बालमैत्री स्थानीय शासनतर्फ हासिल गरेको प्रगतिप्रति खुशी व्यक्त गर्दै यसको दिगोपनामा जोड दिए।

कार्यक्रममा दिनेश थापा ले बालमैत्री वातावरण निर्माणमा अभिभावक, विद्यालय र समुदायको समान भूमिका आवश्यक रहेको बताए। वडा अध्यक्ष सानुराज घिमिरे ले बालमैत्री वडा घोषणालाई दिगो बनाउँदै विद्यार्थी र विद्यालय केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिने बताए।

महिला तथा बालबालिका शाखा प्रमुख सीता गुरुङ ले जनप्रतिनिधि र कर्मचारीको समन्वयमा अल्पकालीन तथा दीर्घकालीन कार्यक्रममार्फत बालमैत्री शासन कार्यान्वयन गरिएको जानकारी दिइन्।

गोदावरी बाल सञ्जाल का अध्यक्ष स्माइल राई ले ५१ वटा सूचक पूरा गर्दै वडा नं. ३ बालमैत्री घोषणा भएको जानकारी दिँदै परिवर्तन आफ्नै सोच र कार्यबाट सुरु हुने बताए।

कार्यक्रमले स्थानीय तह, समुदाय र सरोकारवाला निकायबीच सहकार्य सुदृढ गर्दै बालअधिकार संरक्षण, बालविकास र बालप्रतिभा प्रवर्द्धनमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।

More From Author

पदमा रहँदा गरिएको कामको मूल्यांकन तत्काल नहुने उल्लेख गर्दै पद छाडेपछि मात्र व्यक्तिको योगदानको वास्तविक मूल्यांकन हुने

राष्ट्रिय स्वतन्त्र पार्टीले ललितपुरको ग्वार्कोस्थित एक होटलमा आयोजना गरेको दुई दिने अभिमुखीकरणको दोस्रो दिन चैत ४ गते पार्टीका सभापति रवि लामिछानेले दिएको मन्तव्यको पूर्ण पाठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *