ललितपुरमा साइकलमैत्री आकाशे पुल निर्माण सुरु

— धोबीघाट चक्रपथमा सुरु भयो सुरक्षामुखी पूर्वाधार

ललितपुर असोज २६ — ललितपुर महानगरपालिकाले चक्रपथस्थित धोबीघाटमा साइकलमैत्री आकाशे पुल निर्माण सुरु गरेको छ। आइतबार आयोजित समारोहमा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले पुल निर्माणको शुभारम्भ गरे।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख महर्जनले धोबीघाट क्षेत्र पैदलयात्रीका लागि जोखिमपूर्ण स्थल भएको उल्लेख गर्दै दुर्घटना न्यूनीकरणका लागि पुल निर्माण थालिएको बताए। उनले भने, “सडक सुरक्षित नभएका कारण यस ठाउँमा दर्जनभन्दा बढीले ज्यान गुमाइसकेका छन्। अब यस्तो दुर्घटना हुन नदिन आकाशे पुल निर्माण गर्न लागेका हौं।”

महर्जनका अनुसार महानगरले नख्खु खोलामा तीनवटा पुल निर्माण सम्पन्न गरिसकेको छ भने चक्रपथ नजिकै लिफ्टसहितको अपाङ्गतामैत्री पुल अन्तिम चरणमा पुगेको छ। साथै कर्मनाशा र धापाखेलस्थित महादेव खोलामा पनि पुल निर्माण कार्य जारी रहेको जानकारी उनले दिए।

फेडेरल स्वीकृति प्रक्रियामा ढिलाइ भएकाले पुल निर्माणमा समय लागेको जनाउँदै उनले भने, “चक्रपथमा सानो किलाकाँटा ठोक्न पनि संघीय सरकारको स्वीकृति लिनुपर्ने हुन्छ, त्यसका कारण पुल निर्माण सुरु गर्न ढिलाइ भयो।” उनले ठेकेदार कम्पनीलाई समयमै काम सम्पन्न गर्न आग्रह गरे।

शुसासन तथा संस्थागत विकास समितिका संयोजक र वडा नं. ३ का अध्यक्ष श्रीगोपाल महर्जनले स्थानीय तह नागरिकको मर्म बुझ्ने सरकार भएको बताउँदै विकासका काममा स्थानीयको सहकार्य आवश्यक रहेको धारणा राखे। उनले सडक विभागको स्वीकृति ढिलो भएपछि निर्माण प्रक्रिया अघि बढ्न समय लागेको बताए।

त्यस्तै वडा नं. ४ का अध्यक्ष सन्तोष खड्काले पुल निर्माणले पैदलयात्री र साइकल प्रयोगकर्तालाई सहज र सुरक्षित बनाउने विश्वास व्यक्त गरे।

महानगरका पूर्वाधार महाशाखा प्रमुख इन्जिनियर प्रदीप पौडेलका अनुसार चक्रपथको धोबीघाट क्षेत्रमा पैदलयात्रीको सुरक्षालाई प्राथमिकतामा राखी पुल निर्माण थालिएको हो। सडक वारपार गर्दा भएका दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढेकाले यो पुल आवश्यकता बनेको उनले स्पष्ट पारे।

महानगरका अनुसार पुल निर्माणको सम्झौता रकम ५ करोड ४ लाख ४८ हजार रुपैयाँ रहेको छ। एक वर्षभित्र निर्माण सम्पन्न हुने यो आकाशे पुलले दमकल–सुन्दरीघाट मार्गका पूर्व–पश्चिम क्षेत्रलाई जोड्नेछ, जसले चक्रपथ वारपार गर्न सहज र सुरक्षित बनाउने अपेक्षा गरिएको छ।

More From Author

ज्यापु समाज Jyapu samaj यल स्वीनिक्वःगु दंमुँज्या उलेज्या ज्याझ्व:

ललितपुर महानगरपालिका १६ का अध्यक्ष निर्मलरत्न शाक्य विश्व बाथरोग दिवशको अवसरमा राष्ट्रिय बाथ रोग केन्द्र, बद्री तीर्थ बाथ रोग समाजमा भएको नि:शुल्क बाथ रोग सम्बन्धी स्वास्थ्य परीक्षणमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *