पहिलो दिन घटस्थापनाका अवसरमा घरघरमा दियो, कलश र गणेश स्थापनासहित शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आराधना

काठमाडौं असोज ०६-ः हिन्दुहरूको महान् पर्व बडादशैँ आजदेखि देशभर विधिवत् रूपमा सुरु भएको छ। बडादशैँको पहिलो दिन घटस्थापनाका अवसरमा घरघरमा दियो, कलश र गणेश स्थापनासहित शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आराधना थालिएको छ।

आजका दिन चोखो स्थल वा नदी किनाराबाट ल्याइएका बालुवा–माटो पूजा कोठा अथवा दशैँ घरमा गाईको गोबरले लिपपोत गरी राखिन्छ र त्यसमाथि यव (जौ) रोपिन्छ। विजयादशमीका दिन जमरा टीका–प्रसादसँगै लगाउने परम्परा छ। आयुर्वेदमा समेत जमरालाई औषधीय उपयोग हुने उल्लेख पाइन्छ।

घटस्थापनाका दिन विधिपूर्वक कलश स्थापना गरी त्यसैमा देवी दुर्गाको शक्तिस्वरूप पूजा हुने भएकाले यस दिनलाई घटस्थापना भनिन्छ। नवरात्रका नौ दिनसम्म दुर्गाका महाकाली, महालक्ष्मी र महासरस्वती गरी तीन स्वरूप र अन्य नौ रूपहरूको विधिपूर्वक पूजा–आराधना गरिन्छ।

आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको दुर्गा पक्षमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको विशेष पूजा गरिन्छ। यिनै स्वरूपहरूलाई नवदुर्गा भनिन्छ।

यस अवधिमा घरघरमा नवदुर्गासँगै नवकन्या पूजाको समेत परम्परा रहँदै आएको छ। बडादशैँको सातौँ दिन फूलपाती भित्र्याइन्छ भने महाअष्टमी र महानवमीमा बलिपूजा सहित विशेष आराधना गरिन्छ। नवरात्रभर दुर्गा सप्तशती, देवीभागवत र विभिन्न स्तोत्र–स्तुतिको पाठ गर्ने परम्परा छ।

यस अवसरमा गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो लाग्ने गर्दछ।

विजयादशमीका दिन असोज १६ गते देवी विसर्जन गरी मान्यजनबाट प्रसादस्वरूप टीका र जमरा ग्रहण गर्ने परम्परा छ। यस वर्ष देवी विसर्जनको साइत बिहान ९ बजेर २३ मिनेटमा र टीका लगाउने साइत ११ बजेर ५३ मिनेटमा रहेको खगोलीय पञ्चाङ्गले जनाएको छ।

पूर्णिमासम्म अर्थात् १५ दिनसम्म बडादशैँ धूमधामका साथ मनाइने छ।

More From Author

नेपाली किसानको माग: असोज ६ पछि भारतीय केरा आयात बन्द गरियोस्

ललितपुर महानगरमा गंप्याखं (अष्टमातृका नाच) Gan Pyakhan

Leave a Reply

Your email address will not be published. Required fields are marked *