
ललितपुर – ललितपुर महानगरपालिकाले ‘एक विद्यालय — एक सम्पदा’ कार्यक्रम सुरू गरेको छ। महानगरभित्र रहेका ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदाको संरक्षणसँगै विद्यार्थीलाई प्रत्यक्ष अभ्यासमार्फत सम्पदाबारे ज्ञान दिलाउने उद्देश्यले यो कार्यक्रम ल्याइएको हो।
बुधबार आयोजित छलफल कार्यक्रममा सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक र सरोकारवालासँग सुझाव संकलन गर्दै महानगरले औपचारिक रूपमा अभियानको सुरुवात गरेको हो।


यस अन्तर्गत विद्यालयका विद्यार्थीले आफ्नो विद्यालय नजिकै रहेका ढुंगेधारा, पाटी–पौवा (फल्चा), मठमन्दिर, विहार, बौद्धस्तुपा, पोखरीजस्ता सम्पदाको नियमित सरसफाइ र संरक्षण गर्नेछन्।
महानगर प्रमुख चिरीबाबु महर्जनले यसलाई आफ्नो ‘ड्रिम प्रोजेक्ट’ भन्दै विद्यार्थीलाई प्रत्यक्ष सम्पर्कमा आधारित प्रयोगात्मक शिक्षा दिनेको रूपमा व्याख्या गरे। उनले भने –

“आफूले छोएको, देखेको सम्पदा मायालाग्दो हुन्छ। यसरी विद्यार्थीले संरक्षणमा संलग्न हुँदा जीवनभर सम्पदा संरक्षणप्रति चासो र चेतना बढ्छ।”
सामाजिक विकास समितिका संयोजक तथा प्रवक्ता राजु महर्जनले यो अभियानले विद्यार्थीलाई प्रयोगात्मक शिक्षासँग जोड्ने बताए। उनका अनुसार, “कार्यक्रमले सम्पदाको महत्व बुझाउन मात्र होइन, प्रचारप्रसारमा पनि टेवा पुर्याउँछ।”
शिक्षा महाशाखा प्रमुख देवीप्रसाद पौडेलका अनुसार, कार्यक्रम महानगरका सबै २९ वटै वडामा सञ्चालन हुनेछ। अनुगमनका लागि पाँच सदस्यीय तीन वटा समिति गठन गरिएको छ। ती समितिले पुस २ गते महानगरको सातौँ स्थापना दिवसको अवसरमा उत्कृष्ट काम गर्ने विद्यालयलाई पुरस्कार दिनेछन्।
कार्यक्रम अन्तर्गत सरसफाइमा संकलित फोहोर तत्कालै वातावरण शाखाले व्यवस्थापन गर्ने व्यवस्था गरिएको छ।
