
पर्सा भाद्र ९ —ः नेपाल खानेपानी संस्थानले वितरण गरेको पानीमै ढल मिसिएपछि पर्साको वीरगञ्जमा हैजा संक्रमण तीव्र रूपमा फैलिएको पुष्टि भएको छ।
संक्रमितमध्ये अधिकांशले संस्थानको धाराबाट आएको पानी पिएको पाइएको छ। अनुसन्धान अनुसार, पानी आपूर्ति गर्ने पाइपहरू फुटेका कारण ढल मिसिएको हो। कतिपय स्थानमा खानेपानी र ढल एउटै पाइपलाइनमा चलाइएको, नालासँगै डिप बोरिङ गरिएको, जथाभावी पाइप जडान गरिएको पाइएको छ — जसका कारण हैजा फैलिएको हो।
खानेपानी तथा ढल व्यवस्थापन विभागले पानी परीक्षण तथा शुद्धीकरणका लागि ‘पियुष’ लगायत सामग्रीसहित मोबाइल टोली खटाएको छ। आइतबार खानेपानी मन्त्री प्रदीप यादव स्वयं प्राविधिक टोलीसहित प्रभावित वडाहरूमा पुगेका थिए।
७१ जनामा हैजा पुष्टि, अस्पतालहरूमा बिरामीको चाप असामान्य
नारायणी अस्पतालका अनुसार अहिलेसम्म ७१ जनामा हैजा पुष्टि भइसकेको छ, अन्य थुप्रैको परीक्षण रिपोर्ट आउन बाँकी छ। डा. उदयनारायण सिंहका अनुसार, हैजा भएका संक्रमितभन्दा दोब्बर संख्यामा झाडापखालाका बिरामी उपचार गराइरहेका छन्। अस्पतालको बेड नपुग्दा बिरामीलाई बरन्डामा भुइँमै राखेर उपचार भइरहेको छ।
जनशक्ति अभाव हुन नदिन बिदा रोक
जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिले स्वास्थ्यकर्मीलाई अत्यावश्यकबाहेक अन्य बिदा नदिने निर्णय गरेको छ। निमित्त प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले संक्रमितको उपचारका लागि आवश्यक स्वास्थ्य जनशक्ति केन्द्रित गर्ने निर्णय गरेको हो।
बैठकमा मधेस प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री सत्रुधन प्रसाद सिंहको पनि उपस्थिति थियो। बैठकले महामारीको रोकथामका लागि सबै तहसँग समन्वयमा माइकिङ, घरदैलो, तथा जनचेतनामूलक कार्यक्रम तुरुन्तै सञ्चालन गर्ने निर्णय पनि गरेको छ।
संघीय तथा प्रदेश सरकारबाट प्राप्त स्रोतसाधन तथा जनशक्तिको ‘पुल’ बनाएर जिल्ला संकट व्यवस्थापन समितिमार्फत परिचालन गरिने, साथै संक्रमणको स्रोत पहिचान गर्न प्रदेश र संघीय मन्त्रालयसँगको समन्वयमा अनुसन्धान गरिने पनि बैठकमा निर्णय गरिएको छ।