
काठमाडौं, भदौ ८ ।
नेपाल पर्यटन बोर्ड र नेपाल आर्ट काउन्सिलको संयुक्त आयोजनामा काठमाडौं उपत्यकाका चार वटै महानगरपालिकासँगको सहकार्यमा ‘नेपाल आर्ट एण्ड कल्चर फेस्टिवल–२०२५’ आयोजना हुने भएको छ।
आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजक संस्थाहरूले महोत्सव आगामी असोज १० गतेदेखि २० गतेसम्म काठमाडौं, ललितपुर, भक्तपुर र कीर्तिपुरमा एकसाथ सम्पन्न हुने जानकारी गराएका हुन्।
इन्द्रजात्राको अवसरसँगै सुरु हुने यो फेस्टिवललाई उपत्यकाको सम्पदा, कला र संस्कृतिको समग्र उत्सवका रूपमा प्रस्तुत गरिनेछ।
नेपाल आर्ट काउन्सिलका अध्यक्ष सागर शमशेर राणाले नेपालमा मात्र होइन, विदेशमा समेत यस्ता सांस्कृतिक पर्वहरूको महत्व रहेको बताउँदै,
“फेस्टिवलले नेपालको कलासंस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने प्रयास गर्नेछ,”
भने।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले फेस्टिवलमार्फत नेपाललाई साहसिक पर्यटनको गन्तव्य मात्र नभई सांस्कृतिक वैभव र धरोहरहरूको भण्डारका रूपमा प्रस्तुत गर्ने लक्ष्य रहेको स्पष्ट पारे।
‘नेपालको शाश्वत कला, संस्कृति, खानपान र सम्पदाको उत्सव’ भन्ने मूल नाराका साथ सञ्चालन हुने फेस्टिवलले उपत्यकाका चार वटै महानगरहरू सहित पर्यटन क्षेत्रका सरोकारवाला संघ–संस्थाहरूको सहकार्यमा विविध कार्यक्रम आयोजना गर्नेछ।
महोत्सवमा सांस्कृतिक प्रदर्शनी, कला–कौशल, परम्परागत संगीत र नृत्य, साथै स्थानीय परिकार र जीवित संस्कृतिको अनुभव समेत समावेश गरिने पर्यटन बोर्डले जनाएको छ।
