बुद्धिराज वज्राचार्य : धरातलमा अडिएको उच्च व्यक्तित्व

ललितपुर -ः झन्डै तीन दशकसम्म स्थानीय राजनीतिमा सक्रिय रहेर अन्ततः संस्कृतिमन्त्री भई राष्ट्रिय पहिचान बनाएका बुद्धिराज वज्राचार्य सधैं आफ्नो मूल धरातल, समुदाय र संस्कारमा अडिग रहे। सत्तामा पुगेर लोकप्रियता गुमाउने भोगाइ धेरै नेताहरूको भएको भए पनि वज्राचार्य त्यो दृष्टान्तबाट सर्वथा भिन्न सावित भए।

लोकप्रियता भनेको जनमनोविज्ञानसँग जोडिएको अनुभूति हो। वज्राचार्यको हाउभाउ, बोली, व्यवहार र सद्भावनाले जनमानसमा स्थायी छाप छोडेको थियो। उनको राजनीतिक यात्राको मूल सन्देश सामाजिक–सांस्कृतिक उत्थान थियो, जसले उनलाई राजनीतिक नेता मात्र होइन, सामाजिक नेतृत्वकर्ता बनायो।

उनले आफ्नो राजनीतिक जीवनको सुरुवात पञ्चायती शासनकालमा वडासदस्यका रूपमा गरे। त्यसपछि वडाध्यक्ष र करिब १५ वर्षसम्म प्रधानपञ्च भएर उनले जनतासँग प्रत्यक्ष सहकार्य गरे। २०५४ सालमा नेकपा (एमाले) को तर्फबाट ललितपुर उपमहानगरपालिकाको मेयरमा निर्वाचित भए। पछि २०५८ मा उनी राजसभा सदस्य र राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा संस्कृतिमन्त्रीसमेत बने।

राजनीतिक रूपमा उनको मन्त्री पद विवादास्पद मानिए पनि सांस्कृतिक क्षेत्रमा उनको अडान र योगदानप्रति कसैको असहमति देखिएन। सार्वजनिक पदलाई उनले सधैं सामाजिक कर्म विस्तार गर्ने माध्यम बनाएका थिए।

बुद्धिराज वज्राचार्यको पहिचानको मूल आधार थियो — कला, संस्कृति र सम्पदा संरक्षण। पुल्चोकको खण्डहर अवस्थामा पुगेको अक्षयेश्वर महाविहारको पुनःनिर्माण, लिच्छविकालीन र मल्लकालीन बौद्ध विहारहरूको लालपुर्जा प्राप्तिमा पहल, चक्रपथबाहिरका क्षेत्रहरूमा विहार निर्माणमा सहयोग — यी सबै कार्यमा उनी दृढतापूर्वक लागिपरे।

उनी सभा समारोहमा ज्ञानमाला भजन गाउने गर्दथे। उनको कोइलीजस्तो सुमधुर स्वरले उनलाई ‘कोइली’ उपनामसमेत दिलायो। यसले उनको सार्वजनिक व्यक्तित्वलाई थप प्रभावशाली बनायो। ललितपुरभित्र सबै पक्षहरूसँग सन्तुलित सम्बन्ध राख्न सक्नु, सबैसँग सादगीपूर्वक बोल्न सक्नु, उनको मानवीय पक्षको पुष्टि हो।

२०४६ र २०६२/०६३ का जनआन्दोलनको समयमा केही आलोचना भए पनि उनले आफ्नो लोकप्रिय छवि गुमाएनन्।
उनीसँग प्रतिस्पर्धा गर्ने नेताहरू त्यति लामो समयसम्म समाजमा अडिग भएर बस्न सकेनन्। त्यसको मुख्य कारण थियो— वज्राचार्यको व्यवहार र जन–सम्बन्ध।

पदको अवधि सकिए पनि त्यस अवधिमा गरेका काम र व्यत्तिगत व्यवहारले उनलाई दीर्घकालीन स्मृतिमा बसाल्यो। बाटोमा भेट्ने बालकदेखि वृद्धसम्म सन्चा–बिसन्चो सोध्ने, आवश्यक परेकोमा सहयोग गर्ने उनका गुणले उनलाई ‘सामाजिक नेता’ बनायो।

दोस्रो जनआन्दोलनपछि भारतीय राजदूतावासको सहयोगमा उनले अनेक सम्पदाको पुनःनिर्माण सम्पन्न गराए। किशोरावस्थादेखि सम्पदा र संस्कृतिमा भिजेका वज्राचार्य अन्तिम समयसम्म त्यही कार्यमा समर्पित रहे।

संविधानसभा निर्वाचनदेखि हालसम्म धेरै उम्मेदवारहरू समर्थन माग्न उनीकहाँ जान्थे। उनीसँगको भेट, आशिष र सांस्कृतिक विषय आत्मसात् गर्नु चुनावी अभियानको एक अनिवार्य पक्ष बन्न पुगेको थियो।

तर, वज्राचार्यका लागि यी विषय चुनाव जित्ने औजार थिएनन् — ती उनको अटुट प्रतिबद्धता र लक्ष्य थिए।

शक्ति, पदीय जिम्मेवारी, र निजी इच्छाशक्ति तीनै पक्षले उनलाई समाजमा अग्रणी बनायो। बौद्ध धर्म र सम्पदा सम्बन्धी संघसंस्थाहरूमा उनी पदमा नभए पनि स्थायी प्रमुख अतिथिझैँ रहिरहे।

ललितपुरको सांस्कृतिक परिवेश, चेतना र राजनीतिक विकासक्रममा बुद्धिराज वज्राचार्य एक अविभाज्य हिस्सा बने।
२०८२ श्रावण २ गते, शुक्रबार — उनीको निधनले ललितपुरको विकास र सम्पदाको एक अध्यायको पूर्णविराम लगाएको छ। तर उहाँका विचार र कर्म स्मृतिमा सदैव जीवित रहने छन्।

More From Author

स्ट्रक्चरल इन्जिनियर्सहरुकाे ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्नललितपुर, ११ जेठ: स्ट्रक्चरल इन्जिनियर्सहरुकाे लागि ललितपुरमा सञ्चालन भएको ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्न भएको छ।स्ट्रक्चरल इन्जिनियर्स एशोसिएशन नेपाल र नेपाल विल्डिङ इनफरमेशन फोरमको संयुक्त आयोजनामा ललितपुरको च्यासलस्थित हिमालय कलेज अफ इन्जिनियरिङमा सञ्चालित ”निर्माण सूचना प्रणाली’ (वीआइएम) सम्बन्धी चार दिने आधारभूत तालिम आइतबार  सम्पन्न भएको हो।

सवारी चालक अनुमतिपत्रको अवधि अब १० वर्ष हुने भएको छ।

अब ३ वर्षको कर तिरे- बिसौं वर्षको कर र जरिवाना छुट, वागमती प्रदेश

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Recent Posts