ज्यापु समाज यलको ३३ औं वार्षिक बैठकको समुद्घाटन सम्पन्न

ललितपुर -ः ज्यापु समाज यलको ने.सं. ११४६ नलागा सप्तमी (२०८३ असोज १७ गते) शनिबार ज्यापु प्रज्ञाभवनमा दँमुँज्या उलेज्या सम्पन्न भएको छ।

ज्यापु समाज यलका अध्यक्ष सन्तमान महर्जनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा सम्माननीय सभामुख डोलप्रसाद अर्याल प्रमुख पाहुनाका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा ज्यापु समाज यलका वर्तमान तथा पूर्व नायः, मानार्थ दुजः, ज्यापु समाजका विभिन्न पदाधिकारी, राजनीतिक दलका प्रतिनिधि, संघीय तथा प्रदेश सांसद, स्थानीय तहका जनप्रतिनिधि, सरकारी निकायका उच्च अधिकारी, सुरक्षा निकायका प्रतिनिधि, उद्योगी–व्यवसायी, विभिन्न जातीय तथा सामाजिक संघसंस्थाका प्रतिनिधि र समाजका अगुवाहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रमअघि ज्यापु प्रज्ञाभवनको मुख्य प्रवेशद्वारमा ज्यापु समाजका दुजःपिं, पूर्व नायः तथा मानार्थ दुजःपिंले परम्परागत पोशाकसहित पाहुनाहरूको स्वागत गरेका थिए। मुख्यद्वारको एकतर्फ धिमे बाजासहितको टोलीले सांस्कृतिक प्रस्तुति दिएको थियो।

प्रमुख पाहुना सभामुख अर्याललाई ज्यापु समाजका नायः तथा प्रतिनिधिहरूले परम्परागत विधिअनुसार स्वागत तथा सम्मान गरेका थिए। स्वागतपछि सभामुख अर्याललगायत विशिष्ट पाहुनाहरूलाई औपचारिक कार्यक्रमस्थलमा प्रवेश गराइएको थियो।

कार्यक्रममा ज्यापु समाज यलका निवर्तमान नायः तिर्थलाल महर्जन, पूर्व नायः एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्य, ललितपुर जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुयाल, पुरातत्व विभागका महानिर्देशक सुरेशमान श्रेष्ठ, गोदावरी तथा महालक्ष्मी नगरपालिकाका प्रमुख तथा उपप्रमुख, संघीय तथा प्रदेश सांसदहरू, पूर्वमन्त्रीहरू तथा विभिन्न राजनीतिक दलका जिल्ला नेतृत्वको सहभागिता थियो।

त्यसैगरी ललितपुर महानगरपालिकाका विभिन्न वडाका वडाध्यक्ष तथा कार्यपालिका सदस्य, ज्यापु परिषद्, नेवाः दे दबू, ज्यापु महागुथि, ज्यापु संस्कृति विकास कोष, नेपालभाषा मंकाःखलः लगायत विभिन्न सामाजिक तथा सांस्कृतिक संघसंस्थाका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।

ज्यापु समाज यलका वरिष्ठ न्वकू तथा दँमुँज्या व्यवस्थापन समितिका पदाधिकारीहरूले कार्यक्रम व्यवस्थापन गरेका थिए। कार्यक्रममा ज्यापु समाजको संस्कृति, परम्परा, सामाजिक एकता तथा संस्थागत गतिविधिलाई निरन्तरता दिने विषयमा समेत चर्चा गरिएको थियो।

ज्यापु समाज यलले ललितपुरको मौलिक ज्यापु संस्कृति, परम्परा, भाषा तथा सामाजिक पहिचानको संरक्षण र प्रवर्द्धनमा विभिन्न गतिविधि गर्दै आएको छ। दँमुँज्या उलेज्या पनि समाजको सांस्कृतिक तथा सामाजिक गतिविधिलाई निरन्तरता दिने महत्वपूर्ण कार्यक्रमका रूपमा आयोजना गरिएको आयोजकले जनाएको छ।

More From Author

ललितपुर उद्योग वाणिज्य संघ निर्वाचन : सुबिन बज्राचार्यको उम्मेदवारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *