
ललितपुर असोज १७ -ःरक्तदान तथा रक्तसञ्चार सेवाको क्षेत्रमा क्रियाशील संस्था ब्लोदान (Blood Donors Association of Nepal) को २९औँ केन्द्रीय साधारण सभा सम्पन्न भएको छ। संस्थाका केन्द्रीय अध्यक्ष राजेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभामा रक्तदान अभियानलाई थप प्रभावकारी बनाउने, रक्तसञ्चार सेवालाई व्यवस्थित तथा सहज बनाउने र संस्थागत गतिविधिलाई थप सुदृढ गर्ने विषयमा छलफल गरिएको छ।
कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेल प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा ब्लोदानका संरक्षक तथा मिडिया एलायन्स नेपालका अध्यक्ष भास्कर राज राजकर्णिकार, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला तथा राष्ट्रिय रक्तसञ्चार ब्युरोकी निर्देशक डा. रुणा झा, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारी, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी वरिष्ठ प्याथोलोजिस्ट डा. रेखा मानन्धर श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष विशालकुमार भण्डारी, महासचिव ऋषि खनाललगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि मन्त्री पौडेलले पानसमा दीप प्रज्वलन गरी गरेका थिए। त्यसअघि ब्लोदानका विभिन्न पदाधिकारी, सल्लाहकार तथा जिल्ला शाखाका अध्यक्षहरूले शपथ ग्रहण गरेका थिए। कार्यक्रममा केन्द्रीय सदस्य राधाकुमारी श्रेष्ठले खादा वितरण गरेकी थिइन् भने राष्ट्रिय गानपछि केन्द्रीय उपाध्यक्ष उज्ज्वल के.सी.ले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

साधारण सभामा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष विशालकुमार भण्डारी र त्रिभुवन विश्वविद्यालय लायन्स रक्तसञ्चार तथा अनुसन्धान केन्द्रका अध्यक्ष डा. राजेन्द्र गिरीले शुभकामना मन्तव्य दिएका थिए।
उत्कृष्ट योगदान गर्नेलाई सम्मान
सभाका अवसरमा रक्तदान तथा रक्तसञ्चार क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो। ‘ब्लोदान अफ दि इयर’ सम्मानबाट केन्द्रीय सदस्य राधाकुमारी श्रेष्ठ सम्मानित भइन्।

त्यस्तै सल्लाहकारतर्फ संस्थापक ब्लोदान पूर्वी भेगीय क्षेत्र तथा वरिष्ठ सल्लाहकार लोकनारायण सुवेदी र रक्तसञ्चार सेवातर्फ नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवाका ल्याब टेक्निसियन बसन्त अर्याललाई सम्मान गरिएको थियो।
कार्यक्रममा वरिष्ठ सल्लाहकार तथा सम्मानित व्यक्तित्व लोकनारायण सुवेदी, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला तथा राष्ट्रिय रक्तसञ्चार ब्युरोकी निर्देशक डा. रुणा झा र ब्लोदानका संरक्षक तथा मिडिया एलायन्स नेपालका अध्यक्ष भास्कर राज राजकर्णिकारले रक्तदान अभियान र रक्तसञ्चार सेवाको महत्वबारे धारणा राखेका थिए।
त्यसैगरी उत्कृष्ट पत्रकारका रूपमा सुरेश कसःजु, ब्लड फण्डमा सहयोग पुर्याएबापत ब्लोदान नुवाकोट जिल्ला शाखाका सचिव बादलमान श्रेष्ठ र नव रक्तदाताका रूपमा नवराज मैनालीलाई सम्मान गरिएको थियो। वर्षभरि विभिन्न जिम्मेवारीमा संयोजक भई योगदान पुर्याउने व्यक्तिहरूलाई समेत मायाको चिनो प्रदान गरिएको थियो।
रक्तदान अभियान विस्तारमा जोड

प्रमुख अतिथि मन्त्री सरल सहयात्री पौडेलले रक्तदान मानव जीवन बचाउने महत्वपूर्ण मानवीय अभियान भएकाले यसको विस्तारका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए। उनले रक्तसञ्चार सेवालाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायबीच समन्वय र सहकार्यमा जोड दिए।
कार्यक्रममा ब्लोदानका अध्यक्ष राजेश श्रेष्ठले संस्थाले रक्तदाता, रक्तसञ्चार सेवा तथा सम्बन्धित संघसंस्थासँगको सहकार्यमा रक्तदान अभियानलाई निरन्तर अघि बढाउँदै आएको बताए। उनले सुरक्षित र पर्याप्त रगतको उपलब्धताका लागि नियमित रक्तदान अभियानलाई देशव्यापी बनाउनुपर्नेमा जोड दिए।
सभाको दोस्रो सत्रमा ब्लोदानका महासचिव मचाकाजी महर्जनले वार्षिक प्रगति प्रतिवेदन तथा आगामी कार्ययोजना प्रस्तुत गरे। कोषाध्यक्ष पुरुषोत्तम खत्रीले आर्थिक प्रतिवेदन तथा आर्थिक कार्ययोजना प्रस्तुत गरेका थिए।
साधारण सभामा महासचिव तथा कोषाध्यक्षको प्रतिवेदनमाथि छलफल गर्दै सहभागीहरूले विभिन्न सुझाव प्रस्तुत गरेका थिए। छलफलपछि प्रतिवेदन तथा कार्ययोजना पारित गरिएको थियो।
सभाले आर्थिक वर्ष २०८३/०८४ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी विषयमा समेत निर्णय गरेको छ। हाल कार्यरत वि.वि. अर्याल एण्ड कम्पनीलाई लेखापरीक्षकका रूपमा निरन्तरता दिने विषयमा समेत छलफल भएको थियो।
सभामा ब्लोदानका केन्द्रीय पदाधिकारी, सल्लाहकार, विभिन्न जिल्ला शाखाका अध्यक्ष तथा प्रतिनिधि, रक्तसञ्चार सेवा क्षेत्रमा कार्यरत चिकित्सक तथा प्राविधिक, रक्तदाता, सञ्चारकर्मी र शुभेच्छुकहरूको सहभागिता रहेको थियो।
महासचिव मचाकाजी महर्जनले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष राजेश श्रेष्ठले धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा रक्तदान अभियानलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै संस्थाको उद्देश्यअनुसार गतिविधि अघि बढाउने प्रतिबद्धता व्यक्त गरेपछि दोस्रो सत्र समापन भएको थियो।
