
ललितपुर असोज १६- ः ललितपुर उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा भूमि नन्दन कर्माचार्य नेतृत्वको समूहबाट वस्तुगत उपाध्यक्ष पदमा सुबिन बज्राचार्यले उम्मेदवारी दिएका छन्। हस्तकला तथा सुनचाँदी व्यवसायी क्षेत्रमा लामो समयदेखि सक्रिय बज्राचार्यले ललितपुरका वस्तुगत व्यवसायीको हक, हित र अधिकार संरक्षणसँगै उद्योग–व्यवसायको प्रवर्द्धनलाई आफ्नो मुख्य प्राथमिकता बनाएका छन्।
‘अनुभव, दूरदर्शिता र सबल नेतृत्व–हस्तकला तथा सुनचाँदी व्यवसायीको बलियो आवाज’ भन्ने नारासहित निर्वाचनमा सहभागी बज्राचार्यले व्यवसायीका समस्या स्थानीय तहदेखि प्रदेश र संघीय तहसम्म पुर्याएर नीतिगत रूपमा समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
बज्राचार्यको उम्मेदवारीलाई समर्थन गर्दै भूमि नन्दन कर्माचार्य समूहले ललितपुरका सम्पूर्ण वस्तुगत व्यवसायीको हक, हित र अधिकार संरक्षणका साथै उद्योग–व्यवसायको समग्र उन्नतिका लागि उनलाई अमूल्य मत दिएर विजयी गराउन अपिल गरेको छ।
आफ्नै कार्यालय भवन निर्माणमा नेतृत्व
बज्राचार्यले नेतृत्व गरेको ललितपुर सुनचाँदी व्यवसायी संघले आफ्नै सुविधा सम्पन्न कार्यालय भवन निर्माण तथा स्थापना गर्न सफल भएको समूहले जनाएको छ। संस्थागत विकासका क्षेत्रमा उक्त कार्यलाई महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरिएको छ।
त्यस्तै, लुम्बिनीमा आयोजित विशेष कार्यक्रममा करिब २५ हजार व्यवसायीको प्रतिनिधित्व गर्दै ८० फिट लम्बाइ र ८० फिट चौडाइको विशाल ‘विश्व बज्र रत्न मण्डल’ चित्रण तथा २५ हजार दीप प्रज्ज्वलन गर्ने कार्यक्रम पनि बज्राचार्यको नेतृत्वमा सम्पन्न भएको छ। उक्त कार्यलाई ऐतिहासिक तथा गौरवशाली संस्थागत उपलब्धिका रूपमा उल्लेख गरेको छ।
हस्तकला र मौलिक व्यवसायको संरक्षणमा जोड
बज्राचार्यले ललितपुरको पहिचानसँग जोडिएका हस्तकला, सुनचाँदी तथा परम्परागत उद्योग–व्यवसायको संरक्षण, प्रवर्द्धन र बजारीकरणमा विशेष पहल गर्ने प्रतिबद्धता जनाएका छन्। स्थानीय मौलिक उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्न आवश्यक नीतिगत र संस्थागत पहल गर्ने उनको योजना छ।
त्यस्तै, वस्तुगत क्षेत्रमा रहेका विभिन्न संघ–संस्थाका अधिकार र भूमिकालाई स्पष्ट बनाउन पहल गर्ने तथा व्यवसायीका समस्यालाई स्थानीय, प्रादेशिक र केन्द्रीय तहसम्म पुर्याएर समाधानका लागि समन्वय गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।
कर तथा प्रशासनिक समस्या सहजीकरण गर्ने प्रतिबद्धता
उद्योगी तथा व्यवसायीले भोग्दै आएका कर, राजस्व तथा प्रशासनिक जटिलतालाई सहजीकरण गर्न सम्बन्धित निकायसँग समन्वय गर्ने बज्राचार्यको प्रतिबद्धता छ। व्यवसाय सञ्चालनका क्रममा देखिने नीतिगत तथा प्रशासनिक समस्याको समाधानका लागि उद्योग वाणिज्य संघलाई प्रभावकारी माध्यमका रूपमा विकास गर्नुपर्नेमा उनले जोड दिएका छन्।
यसैगरी, संघलाई थप पारदर्शी, गतिशील र प्रविधिमैत्री बनाउँदै सबै क्षेत्रका व्यवसायीको साझा संस्थाका रूपमा विकास गर्ने लक्ष्य समूहले अघि सारेको छ।
ललितपुर उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा भूमि नन्दन कर्माचार्य नेतृत्वको समूहबाट वस्तुगत उपाध्यक्ष पदका उम्मेदवार बज्राचार्यले ‘हाम्रो प्रतिबद्धता, यहाँहरूको अमूल्य मत’ भन्ने आह्वानसहित व्यवसायीहरूसँग मत मागेका छन्।
