कांग्रेसमा आन्तरिक प्रतिस्पर्धा सकियो, अब प्रतिस्पर्धा विपक्षीसँग : श्रेष्ठ

ललितपुर असोज १३ -ः नेपाली कांग्रेस ललितपुरका जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठले पार्टीको आन्तरिक निर्वाचनमा प्रतिस्पर्धा गरेका सबै नेता–कार्यकर्तालाई समेटेर संगठनलाई एकताबद्ध रूपमा अघि बढाउनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ललितपुर क्षेत्र नम्बर ३ मा मंगलबार सम्पन्न क्षेत्रीय तथा प्रदेशसभा निर्वाचनबाट निर्वाचित पदाधिकारी, सदस्य तथा प्रतिनिधिहरूलाई प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै सभापति श्रेष्ठले पार्टीको आन्तरिक निर्वाचनलाई व्यक्तिगत हार–जितका रूपमा लिन नहुने बताए ।

उनले निर्वाचनमा कुनै व्यक्ति पराजित नभएको र अन्ततः नेपाली कांग्रेसकै जित भएको धारणा राखे । “धेरै साथीहरूलाई सर्वसम्मत गराउन कोसिस गर्दागर्दै पनि गर्न सकेनौँ । फलस्वरूप हामी लोकतान्त्रिक अभ्यासमा गयौँ,” उनले भने ।

श्रेष्ठले निर्वाचनबाट निर्वाचित नेतृत्वले प्रतिस्पर्धामा रहेका नेता–कार्यकर्तालाई कमजोर ठान्न नहुने बताए । प्रतिस्पर्धा गरेका सबै नेता–कार्यकर्ता नेपाली कांग्रेसकै भएकाले उनीहरूलाई समान व्यवहार गर्दै संगठनमा समेटेर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

“लोकतान्त्रिक अभ्यासमा भएको निर्वाचनलाई व्यक्तिगत हार–जितका रूपमा लिनु हुँदैन,” उनले भने, “निर्वाचनबाट नेतृत्वमा आएका साथीहरूले प्रतिस्पर्धा गरेका साथीहरूलाई पनि साथमा लिएर अघि बढ्नुपर्छ ।”

उनले संगठनको जितलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । निर्वाचनमा पराजित भएका नेता–कार्यकर्ताले आफूलाई कमजोर ठानेर हारको मनस्थितिमा बस्दा त्यसको असर संगठनमा पर्ने उनको भनाइ थियो ।

श्रेष्ठले ललितपुर कांग्रेसमा आन्तरिक निर्वाचनमा प्रतिस्पर्धाबाट बाहिर रहेका नेता–कार्यकर्तालाई समेत विभिन्न तहमा जिम्मेवारी दिएर संगठनमा समेट्दै सहयात्रा गर्ने प्रतिबद्धता जनाए ।

उनका अनुसार कांग्रेसभित्रको आन्तरिक प्रतिस्पर्धा अब समाप्त भएको छ । आगामी प्रतिस्पर्धा पार्टीभित्र नभई विपक्षी दलहरूसँग हुने भएकाले सबै नेता–कार्यकर्ता एकताबद्ध भएर अघि बढ्नुपर्ने उनले बताए ।

“अब कांग्रेसभित्रको निर्वाचन सकिएको छ । आगामी प्रतिस्पर्धा विपक्षीसँग हो,” श्रेष्ठले भने, “पार्टीको आन्तरिक निर्वाचनमा देखिएको एकतालाई आगामी निर्वाचनमा पनि कायम राख्नुपर्छ ।”

उनले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै पार्टीलाई संगठनात्मक रूपमा बलियो र एकताबद्ध बनाउनुपर्ने बताए । अघिल्लो स्थानीय निर्वाचनमा ललितपुरका ६ वटा पालिकामा कांग्रेसका उम्मेदवार निर्वाचित हुनुमा पार्टीभित्रको एकता महत्वपूर्ण कारण रहेको उनको दाबी थियो ।

श्रेष्ठले विगतमा उम्मेदवारलाई टिकट वितरण गर्ने क्रममा आफू पनि पूर्वाग्रही बनेको स्वीकार गर्दै आगामी दिनमा सबै नेता–कार्यकर्तालाई समेटेर अघि बढ्नुपर्ने बताए ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, कांग्रेस नेतृ धना खतिवडालगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा क्षेत्रीय तथा प्रदेशसभा निर्वाचनबाट निर्वाचित पदाधिकारी, सदस्य तथा प्रतिनिधिहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

More From Author

बाल्टिमोरमा जीवन्त इन्द्रजात्रा, झल्कियो नेवाः संस्कृति

Leave a Reply

Your email address will not be published. Required fields are marked *