
ललितपुर, असोज ११ गते -ः लायन्स क्लब्स इन्टरनेशनल, डिस्ट्रिक्ट ३२५ पी नेपालको वर्ष २०२६–२०२७ अन्तर्गत अन्तर्राष्ट्रिय युवा आदान–प्रदान कार्यक्रम सञ्चालन भइरहेको छ। कार्यक्रमअन्तर्गत यसै महिनाको ८ गतेदेखि १९ गतेसम्म विभिन्न गतिविधि सञ्चालन गरिने भएको छ।

कार्यक्रमको पहिलो चरणअन्तर्गत असोज ८ गतेदेखि १२ गतेसम्म काठमाडौंमा विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन्। शिविरमा अष्ट्रेलिया, इन्डोनेसिया, इटाली, क्यानडा, डेनमार्क, पोल्याण्ड, बेल्जियम र नेपाल गरी आठ देशका २० जना युवाहरूको सहभागिता रहेको छ।
अन्तर्राष्ट्रिय युवा आदान–प्रदान शिविरको मुख्य उद्देश्य विश्वका विभिन्न देशका युवाहरूलाई नेपाल तथा लायन्सको कला, संस्कृति, सम्पदा, पर्यटन र सेवामूलक गतिविधिबारे परिचित गराउनुका साथै उनीहरूबीच अनुभव, ज्ञान तथा संस्कृतिको आदान–प्रदान गर्ने अवसर प्रदान गर्नु रहेको आयोजकले जनाएको छ।
कार्यक्रमले अन्तर्राष्ट्रिय युवाहरूसँग भविष्यमा सेवा, मानवीय सहयोग तथा विभिन्न सामाजिक र आर्थिक क्षेत्रमा सहकार्यका सम्भावनालाई विस्तार गर्ने लक्ष्यसमेत राखेको छ।
कार्यक्रमका क्रममा सहभागी विदेशी तथा नेपाली युवाहरूलाई ललितपुर महानगरपालिका–१६ मा पनि स्वागत गरिएको छ। वडा नं. १६ का अध्यक्ष निर्मल रत्न शाक्यले सहभागी युवाहरूलाई खादा लगाई स्वागत गरेका थिए।
कार्यक्रममा नेपालका कला, संस्कृति, सम्पदा तथा स्थानीय परम्पराबारे जानकारी गराउँदै अन्तर्राष्ट्रिय युवाहरूबीच सांस्कृतिक सम्बन्ध विस्तारमा जोड दिइएको थियो।
अन्तर्राष्ट्रिय युवा आदान–प्रदान शिविरका संयोजक सगुन धाख्वाका अनुसार कार्यक्रममार्फत विभिन्न देशका युवाहरूलाई नेपालको मौलिक संस्कृति र सामाजिक सेवाका गतिविधिसँग प्रत्यक्ष जोड्ने प्रयास गरिएको छ।
