बाल्टिमोरमा जीवन्त इन्द्रजात्रा, झल्कियो नेवाः संस्कृति

ललितपुर असोज १२ -ः नेपालबाट हजारौँ माइल टाढा अमेरिकाको बाल्टिमोरमा काठमाडौं उपत्यकाको प्रसिद्ध इन्द्रजात्रा अर्थात् ‘येँयाः पुन्हि’को झल्को देखिएको छ। नेपाः कम्युनिटी यूएसए (Nepa Community USA) को आयोजनामा आइतबार गनपाउडर फल्स स्टेट पार्कमा इन्द्रजात्रा उत्सव आयोजना गरिएको हो।

प्रवासमा रहेका नेपाली तथा नेवाः समुदायलाई आफ्नो मौलिक संस्कृति, परम्परा र पहिचानसँग जोड्ने उद्देश्यले आयोजित कार्यक्रममा परम्परागत कुमारी, गणेश र भैरवको रथयात्रा प्रदर्शन गरिएको थियो। त्यसैगरी लाखे र पुलुकिसी नाच प्रस्तुत गरिएको थियो।

नेवाः बाजागाजाको तालमा प्रस्तुत गरिएका सांस्कृतिक कार्यक्रमले सहभागीलाई काठमाडौं उपत्यकामा मनाइने इन्द्रजात्राको अनुभूति गराएको थियो। परम्परागत बाजागाजा, नाच र सांस्कृतिक प्रस्तुतिले कार्यक्रमस्थलमा नेवाः संस्कृतिको जीवन्त वातावरण सिर्जना गरेको थियो।

अमेरिकामा जन्मिएर हुर्किरहेका नेपाली मूलका बालबालिकालाई आफ्नो भाषा, संस्कृति र परम्परासँग परिचित गराउने उद्देश्यले सांस्कृतिक भेषभूषा प्रदर्शनसमेत गरिएको थियो। आयोजकका अनुसार नयाँ पुस्तामा मौलिक संस्कृति र परम्पराप्रति रुचि तथा चेतना बढाउँदै पुस्तान्तरण गर्नु कार्यक्रमको प्रमुख उद्देश्य हो।

इन्द्रजात्रा उत्सवमा नेवाः समुदायको लोकप्रिय परिकार समय् बजीसहित विभिन्न नेपाली परिकारको समेत व्यवस्था गरिएको थियो। सहभागीहरूले परम्परागत खानाको स्वाद लिँदै सांस्कृतिक कार्यक्रमको अवलोकन गरेका थिए।

कार्यक्रममा बाल्टिमोर क्षेत्रमा रहेका नेपाली व्यवसायी, स्वयंसेवक तथा विभिन्न सामुदायिक संस्थाका प्रतिनिधिको सक्रिय सहभागिता रहेको थियो। नेपाली समुदायका सदस्य तथा स्थानीय शुभेच्छुकहरूको उपस्थितिले उत्सवलाई थप उत्साहपूर्ण बनाएको आयोजकले जनाएको छ।

आयोजकहरूले प्रवासमा आयोजना गरिने यस्ता सांस्कृतिक कार्यक्रमले नेपाली मौलिक पहिचान, भाषा, संस्कृति र परम्परालाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। साथै, यस्ता कार्यक्रमले समुदायका सदस्यबीचको आपसी सम्बन्ध र एकतालाई समेत थप मजबुत बनाउने उनीहरूको विश्वास छ।

बाल्टिमोरमा आयोजित इन्द्रजात्रा प्रवासी नेपाली तथा नेवाः समुदायका लागि संस्कृति र पुस्ताबीचको सम्बन्ध जोड्ने साझा चौतारी बनेको सहभागीहरूले बताएका छन्। विदेशमा रहेर पनि आफ्नो मौलिक पर्व, परम्परा र संस्कृतिलाई निरन्तरता दिन पाउनु नयाँ पुस्ताका लागि आफ्नो पहिचान बुझ्ने महत्वपूर्ण अवसर भएको उनीहरूको भनाइ थियो।

More From Author

नेपालमा अन्तर्राष्ट्रिय युवा आदान–प्रदान क्याम्प २०२६ भव्य रूपमा उद्घाटन

Leave a Reply

Your email address will not be published. Required fields are marked *