
काठमाडौं, असोज ११ गते । लायन्स क्लब्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ पी, नेपालको आयोजनामा अन्तर्राष्ट्रिय युवा आदान–प्रदान क्याम्प २०२६ (International Youth Exchange Camp 2026) शनिबार काठमाडौंमा भव्य रूपमा उद्घाटन भएको छ।
सिनामंगलस्थित होटल रोयल एयरपोर्टमा आयोजित उद्घाटन समारोहमा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। लायन्स क्लब्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ पीका डिस्ट्रिक्ट गभर्नर PMJF Lion Sandeep Kausadhan को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा पूर्व डिस्ट्रिक्ट गभर्नर Lion Anup Pahadi, PNG PDG Lion Arun Pratap Rana, Area Chief Lion Sagun Dhakwa लगायत लायन्स नेतृत्व, पदाधिकारी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति थियो।

नेपालमा आयोजना गरिएको अन्तर्राष्ट्रिय युवा आदान–प्रदान कार्यक्रममा पोल्यान्ड, इटाली, अष्ट्रेलिया लगायत विभिन्न देशका युवा प्रतिनिधिहरू सहभागी भएका छन्। विभिन्न देशबाट नेपाल आएका युवालाई नेपाली संस्कृति, परम्परा, कला र मौलिक पहिचानसँग परिचित गराउने उद्देश्यले कार्यक्रमअन्तर्गत विविध गतिविधि सञ्चालन गरिने आयोजकले जनाएको छ।

उद्घाटन समारोहमा नेपाली मौलिक नृत्य, परम्परागत पोशाक तथा सांस्कृतिक प्रस्तुतिमार्फत विदेशी युवा प्रतिनिधिहरूको स्वागत गरिएको थियो। नेपाली कला, संस्कृति र परम्पराको झल्को दिने प्रस्तुतिले सहभागी विदेशी युवालाई नेपालको सांस्कृतिक विविधताबारे जानकारी गराएको थियो।

आयोजकका अनुसार युवा आदान–प्रदान कार्यक्रम केवल भ्रमणमा सीमित नभई विभिन्न देशका युवाबीच प्रत्यक्ष संवाद, अनुभव आदान–प्रदान र सांस्कृतिक समझदारी विकास गर्ने महत्वपूर्ण माध्यम हो। कार्यक्रमका क्रममा विदेशी युवाले नेपालको सामाजिक तथा सांस्कृतिक जीवनलाई नजिकबाट बुझ्ने अवसर पाउनेछन् भने नेपाली युवाले पनि विभिन्न देशका युवासँग आफ्नो अनुभव र संस्कृति आदान–प्रदान गर्ने अवसर प्राप्त गर्नेछन्।

लायन्स क्लब्स इन्टरनेशनलले युवा पुस्तामा नेतृत्व क्षमता विकास, अन्तर्राष्ट्रिय मित्रता तथा सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न देशमा युवा आदान–प्रदान कार्यक्रम सञ्चालन गर्दै आएको छ। नेपालमा आयोजित यस कार्यक्रमले पनि सहभागी युवाबीच आपसी सम्बन्ध विस्तारसँगै अन्तर्राष्ट्रिय सहकार्यको आधार बलियो बनाउने अपेक्षा गरिएको छ।

कार्यक्रममार्फत ‘विविध संस्कृतिबीच मित्रता र युवामार्फत विश्वव्यापी सहकार्य’को सन्देश प्रवाह गर्ने प्रयास गरिएको आयोजकले जनाएको छ।



नेपाल आएका विदेशी युवा प्रतिनिधिहरूले नेपाली आतिथ्य, संस्कृति र परम्परागत स्वागतबाट आफूहरू प्रभावित भएको बताएका छन्। उनीहरूले नेपालमा रहँदा नेपाली समाज, कला, संस्कृति तथा जीवनशैलीलाई नजिकबाट बुझ्ने अवसर प्राप्त हुने भन्दै यो अनुभव आफ्ना लागि महत्वपूर्ण रहने बताएका थिए।
अन्तर्राष्ट्रिय युवा आदान–प्रदान क्याम्पअन्तर्गत सहभागी युवालाई नेपालका विभिन्न सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको अवलोकन गराउनुका साथै नेपाली कला, संस्कृति र परम्परासँग प्रत्यक्ष परिचित गराउने कार्यक्रमसमेत सञ्चालन गरिने आयोजकले जनाएको छ। यसबाट नेपाल र सहभागी राष्ट्रबीचको सांस्कृतिक सम्बन्ध विस्तार हुनुका साथै युवास्तरमा अन्तर्राष्ट्रिय मित्रता र सहकार्य थप सुदृढ हुने अपेक्षा गरिएको छ।
