समुदायमै स्वास्थ्य परीक्षण गर्नुपर्नेमा मुख्यमन्त्री थापाको जोड

ललितपुर, असोज ११ गते -ः विश्व मुटु दिवस २०८३ को अवसरमा ‘Don’t Miss a Beat’ नारासहित मुटु स्वास्थ्यसम्बन्धी जनचेतना तथा सम्मान समारोह आयोजना गरिएको छ। Heart to Heart Center को आयोजनामा भएको कार्यक्रममा मुटु रोगको जोखिम, रोकथाम तथा स्वस्थ जीवनशैलीबारे जनचेतना अभिवृद्धि गर्ने विषयमा जोड दिइएको थियो।

कार्यक्रमका सभापति रोशनकृष्ण न्याछ्यों तथा प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री माननीय किरण थापा रहेका थिए। कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्री उमेश श्रेष्ठ विशेष अतिथिका रूपमा सहभागी थिए।

समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापाले नसर्ने रोग (एनसीडी) को बढ्दो जोखिम न्यूनीकरणका लागि समुदायमै पुगेर स्वास्थ्य परीक्षण तथा स्क्रिनिङ कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए।

उनले समुदायमा आधारित एनसीडी स्क्रिनिङ कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न नसके आगामी दिनमा नसर्ने रोगको दर अझ बढ्न सक्ने बताए। अहिले कुल रोगको करिब ७१ प्रतिशत हिस्सा नसर्ने रोगले ओगटेको उल्लेख गर्दै उनले आगामी दिनमा यो हिस्सा ७२ देखि ७३ प्रतिशतसम्म पुग्न सक्ने जोखिम रहेको बताए।

नसर्ने रोगको जोखिम न्यूनीकरणका लागि बागमती प्रदेश सरकारले समुदायमै स्वास्थ्यकर्मी परिचालन गरी स्वास्थ्य परीक्षण तथा स्क्रिनिङ गर्ने कार्यक्रम अघि बढाएको मुख्यमन्त्री थापाले जानकारी दिए। उनले समयमै रोग पहिचान गरी उपचार तथा रोकथामका उपाय अपनाउन सके नसर्ने रोगबाट हुने जोखिम कम गर्न सकिने बताए।

कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्री उमेश श्रेष्ठले स्वास्थ्य क्षेत्रमा राज्य, निजी क्षेत्र तथा समुदायको सहकार्य आवश्यक रहेको बताए। उनले ‘समाज सेवा नै धर्म हो’ भन्ने भावनाका साथ स्वास्थ्य तथा सामाजिक क्षेत्रमा निरन्तर सेवा गर्नुपर्नेमा जोड दिए।

विश्व मुटु दिवसका अवसरमा आयोजित कार्यक्रममा मुटु स्वास्थ्यका क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मानसमेत गरिएको थियो। सहभागीहरूले मुटु रोगबाट बच्न नियमित स्वास्थ्य परीक्षण, सन्तुलित आहार, शारीरिक व्यायाम तथा स्वस्थ जीवनशैली अपनाउनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रमले मुटु रोगलगायत नसर्ने रोगको जोखिमबारे समुदायमा जनचेतना फैलाउँदै समयमै स्वास्थ्य परीक्षण र रोग पहिचानको आवश्यकता औँल्याएको थियो।

More From Author

नेपालमा पहिलोपटक मैथिली गद्यमा ‘अर्चनाकृत सम्पूर्ण महाभारत’ विमोचन

Leave a Reply

Your email address will not be published. Required fields are marked *