
ललितपुर, असोज ९ गते। नेपालमा पहिलोपटक मैथिली भाषाको सरल गद्य शैलीमा रचना गरिएको ‘मैथिली गद्य अर्चनाकृत सम्पूर्ण महाभारत’ को भव्य रूपमा विमोचन गरिएको छ।
पूर्वउपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्य तथा ग्रन्थकी लेखिका अर्चना झाको सभाध्यक्षतामा आयोजित कार्यक्रममा उक्त महाग्रन्थ विमोचन गरिएको हो। कार्यक्रम श्री मानव सेवा फाउन्डेसनको आयोजनामा तथा मधेसी प्राध्यापक सङ्घ र हिन्दु सम्राट नेपालको सहयोगमा सम्पन्न भएको हो।
मैथिली भाषामा सम्पूर्ण महाभारत सहज र सरल रूपमा उपलब्ध नभएको अवस्थालाई ध्यानमा राख्दै साहित्यकार, पत्रकार तथा लेखिका अर्चना झाले लामो समयको अध्ययन, अनुसन्धान, मनन र साधनापछि उक्त ग्रन्थ तयार पार्नुभएको हो। लेखिकाका अनुसार यो कृति कुनै एक पुस्तकको हुबहु अनुवाद नभई विभिन्न स्रोतको अध्ययन तथा अनुसन्धानका आधारमा आफ्नै मातृभाषामा सिर्जना गरिएको हो।
‘अर्चनाकृत सम्पूर्ण महाभारत’मा महाभारतका १८ वटै पर्व समेटिएका छन्। करिब १ लाख २१ हजार शब्दमा रचना गरिएको उक्त ग्रन्थ ६१३ पृष्ठको रहेको लेखिकाले जानकारी दिनुभयो। ग्रन्थका प्रकाशक विनयकुमार झा तथा सम्पादक प्रेमनारायण झा हुनुहुन्छ।
सरल मैथिली भाषा, मैथिली लोकभाकाका गीत तथा मिथिला चित्रकलाको प्रयोगले ग्रन्थलाई थप आकर्षक बनाएको लेखिकाको भनाइ छ। उहाँका अनुसार ग्रन्थमा महाभारतको कथा मात्र नभई धर्म, कर्म, संस्कार, सभ्यता, धार्मिक स्थल, वातावरण, संस्कृति, राजनीति, न्याय, कूटनीति, नीति तथा मानवीय जीवनमूल्यका विविध पक्षलाई समेटिएको छ।

लेखिका झाले महाभारतलाई मैथिली भाषामा प्रस्तुत गर्नुको मुख्य उद्देश्य मैथिलीभाषी पाठकलाई आफ्नै मातृभाषामा महाभारत पढ्ने, बुझ्ने र मनन गर्ने अवसर प्रदान गर्नु रहेको बताउनुभयो। उहाँले यो ग्रन्थ व्यक्तिगत उपलब्धिभन्दा पनि मैथिली भाषा, साहित्य, सनातन संस्कृति र नेपालका लागि समर्पित कृतिका रूपमा लिनुपर्ने धारणा व्यक्त गर्नुभयो।
ग्रन्थमा भगवान् श्रीकृष्णले अर्जुनलाई दिनुभएको दिव्य उपदेश तथा श्रीमद्भगवद्गीताको आध्यात्मिक, नैतिक र दार्शनिक पक्षलाई समेत विशेष महत्त्व दिइएको छ। महर्षि वेदव्यास र भगवान् श्रीकृष्णको भूमिका, महाभारतका विभिन्न पात्र तथा घटनाक्रम र त्यसबाट प्राप्त हुने जीवनदर्शनलाई पनि सरल शैलीमा प्रस्तुत गरिएको लेखिकाले जानकारी दिनुभयो।
यसैगरी महाभारतका महिला पात्रहरूको जीवन, त्याग, संघर्ष, शक्ति, धैर्य र योगदानलाई विशेष रूपमा उजागर गरिएको छ। गङ्गा, सत्यवती, कुन्ती, गान्धारी र द्रौपदीलगायतका नारी पात्रको भूमिका तथा उनीहरूको निर्णय र संघर्षबाट प्राप्त हुने सन्देशलाई ग्रन्थमा समेटिएको छ। विभिन्न देवी–देवता, यक्ष, ऋषि, मुनि तथा महर्षिका कथालाई पनि स्थान दिइएको छ।
पाण्डवहरूको संघर्षपूर्ण जीवन, वनवास, धर्मप्रतिको निष्ठा, युद्ध, विजयदेखि स्वर्गारोहणसम्मको यात्रालाई प्रस्तुत गरिएको छ भने कौरवहरूको सत्तामोह, षड्यन्त्र, अहंकार र अधर्मबाट निम्तिएको विनाशलाई समेत जीवनोपयोगी सन्देशका रूपमा चित्रण गरिएको लेखिकाले बताउनुभयो।
अर्चना झाले यसअघि मैथिली भाषामै ‘अर्चनाकृत रामायण’ रचना गर्नुभएको थियो। उक्त कृतिप्रति पाठक तथा शुभेच्छुकबाट प्राप्त माया, हौसला र प्रेरणाले आफूलाई महाभारत लेखनका लागि थप ऊर्जा प्राप्त भएको उहाँले बताउनुभयो।
साहित्य, पत्रकारिता, संस्कृति तथा समाजसेवामा योगदान पुर्याएको भन्दै झालाई विभिन्न सम्मान प्रदान गरिएको छ। उहाँलाई मन्त्रीहरूबाट ‘राष्ट्रिय धरोहर नारीरत्न–२०८२’ बाट सम्मानित गरिएको तथा ‘सीता’ उपाधिसमेत प्राप्त गरेको उहाँले जानकारी दिनुभयो।
लेखिका झाले ‘मैथिली गद्य अर्चनाकृत सम्पूर्ण महाभारत’ मातृभाषाप्रतिको प्रेम, सनातन संस्कृतिप्रतिको श्रद्धा र साहित्यिक साधनाको परिणाम भएको बताउनुभयो। मैथिली गद्यमा महाभारतको यस प्रकारको विस्तृत कृति आउनुले मैथिली भाषा तथा साहित्यसँगै मिथिलाको सांस्कृतिक धरोहरलाई थप समृद्ध बनाउने उहाँको विश्वास छ।
