विश्वलाई नेपाली मूर्तिकलाको परिचय दिने ‘क्रोधकला शिरोमणि’ कालु कुमालेको निधन

ललितपुर असोज ७-ः नेपाली परम्परागत धातु मूर्तिकलालाई देश–विदेशमा चिनाउन महत्वपूर्ण योगदान पुर्‍याएका ‘क्रोधकला शिरोमणि’ कालु कुमालेको निधन भएको छ। कुमालेको ९४ वर्षको उमेरमा मंगलबार बिहान साढे १२ बजे हात्तीवनस्थित निजी निवासमा निधन भएको हो।

९४ वर्षको उमेरसम्म पनि सक्रिय रूपमा मूर्ति निर्माणमा लागिरहनुभएका कुमाले पछिल्लो समय आफ्ना चेलाहरूलाई मूर्तिकलासम्बन्धी ज्ञान र सीप हस्तान्तरण गर्दै आउनुभएको थियो। नेपाली बौद्धकलामा आधारित क्रोध मुद्राका मूर्ति निर्माणमा विशेष दक्षता हासिल गर्नुभएका उहाँ परम्परागत धातु मूर्तिकलाका विशिष्ट साधकका रूपमा स्थापित हुनुहुन्थ्यो।

कुमालेले निर्माण गर्नुभएका मूर्तिमध्ये पाटन बालकुमारी मन्दिरको भैरव, धन्वन्तरी बराही, शंखमूलको राधारुक्मणि, त्यागलको गणेश तथा भैरव, महाबुद्धको वज्र, सतुङ्गलस्थित विष्णुदेवी मन्दिरका अष्टमातृका तथा मन्थली, रामेछापको नागदेवसहित विभिन्न देवीदेवताका मूर्ति उल्लेखनीय छन्।

उहाँले छ्वास्कामुनि अजिमा, वज्रयोगिनी, महिषसम्बर, चक्रसम्बर, कालचक्र, काम्यु महांकाल, सिपिज्याल्म्यो, वज्रपाणि बोधिसत्व, डाकिनी, गरुड, सेतो महांकाल, भैरव र कालभैरवलगायतका अनेक क्रोधरूपी मूर्ति निर्माण गर्नुभएको थियो।

नेपालको परम्परागत मूर्तिकलालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन कुमालेको योगदान महत्वपूर्ण मानिन्छ। उहाँका सिर्जना चीन, बेलायत, भारतलगायत करिब दुई दर्जन मुलुकका मठ–मन्दिर, गुम्बा तथा संग्रहालयसम्म पुगेका छन्। लन्डनस्थित भिक्टोरिया एन्ड अल्बर्ट संग्रहालयमा समेत उहाँका कृतिहरू रहेका छन्।

कुमाले मूर्ति निर्माणकै सिलसिलामा तिब्बत, भुटान, हङकङ, थाइल्यान्ड, सिंगापुर, जापान र कोरियालगायतका मुलुक पुग्नुभएको थियो। उहाँले तिब्बती धर्मगुरु दलाई लामाका लागि समेत मूर्ति निर्माण गर्नुभएको थियो।

दलाई लामा सन् १९७६ मा अजिमा निर्माण गर्ने कलाकारको खोजीमा पाटन आउनुभएको बेला कुमालेसँग भेट भएको थियो। धर्मगुरुको आग्रहमा कुमालेले अजिमाको मूर्ति निर्माण गर्नुभएको थियो।

औपचारिक शिक्षा खासै नलिएका कुमालेले सानैदेखि बुबाको सीप पछ्याउँदै मूर्तिकलाको क्षेत्रमा प्रवेश गर्नुभएको थियो। उहाँ आफ्ना बुबालाई नै आफ्नो प्रेरणाको मुख्य स्रोत मान्नुहुन्थ्यो। करिब सात दशकअघि बुबासँगै वर्षेनी एक महिना माटाका भाँडाकुँडा बनाएर मच्छिन्द्रनाथ, मीननाथ र आदिनाथलाई चढाउने परम्परामा सहभागी हुने गरेको उहाँले बताउँदै आउनुभएको थियो।

समयक्रममा माटो पाइने जमिनको अभाव भएपछि कुमाले परिवारले परम्परागत माटाका भाँडा बनाउने पेसाबाट धातुका सामग्री तथा मूर्ति निर्माणतर्फ आफूलाई केन्द्रित गरेको थियो। त्यसपछि तामा, चाँदी र पित्तललगायतका धातुबाट मूर्ति तथा विभिन्न कलाकृति निर्माणमा कुमाले परिवारको सीप विकसित हुँदै गएको थियो।

कुमालेको योगदानको कदर गर्दै २०७३ साल वैशाख २९ गते सगरमाथा प्रतिष्ठानले उहाँलाई ‘क्रोधकला शिरोमणि’ उपाधि प्रदान गरेको थियो। उहाँले गोरखा दक्षिण बाहु, राष्ट्रिय प्रतिभा पुरस्कार, ललितकला प्रज्ञा सम्मान, सुप्रसिद्ध प्रबल जनसेवाश्री पदक, सगरमाथा प्रतिष्ठान सम्मानलगायत दर्जनौँ सम्मान तथा पुरस्कार प्राप्त गर्नुभएको थियो।

पछिल्लो समय, करिब दुई वर्षअघि कुमालेले पाटन संग्रहालयलाई ६ फिट ४ इन्च अग्लो वाराही जोगिनीको मूर्ति हस्तान्तरण गर्नुभएको थियो। आफू जीवित छँदै आफ्नो एउटा महत्वपूर्ण इच्छा पूरा गर्ने उद्देश्यले उक्त मूर्ति संग्रहालयलाई प्रदान गर्नुभएको उहाँले बताउनुभएको थियो।

मूर्ति हस्तान्तरणका क्रममा उहाँले संग्रहालयका तत्कालीन कार्यालय प्रमुख मञ्जु भण्डारीलाई ‘यो मूर्तिलाई राम्ररी राख्नु है’ भन्दै आग्रह गर्नुभएको थियो। उक्त मूर्ति संग्रहालयमा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई नेपाली परम्परागत क्रोधकलाको परिचय गराउने महत्वपूर्ण कृतिका रूपमा रहने विश्वास उहाँले व्यक्त गर्नुभएको थियो।

कुमालेले जीवनभर निर्माण गर्नुभएका धातु मूर्तिमध्ये सबैभन्दा सानो मूर्तिका रूपमा हखाः बहालस्थित सूर्यमान वज्राचार्यको घरमा प्रत्येक वर्ष मुखाअष्टमीको व्रत पूजामा राखिने करिब साढे एक इन्चको तारा र तीन इन्चको अमोघपास लोकेश्वर रहेको बताइन्छ। त्यस्तै उहाँका ठूला सिर्जनामध्ये अर्घाखाँची दरबार परिसरमा स्थापित १७ फिट र २१ फिटका शान्त अर्घा भगवतीका मूर्ति उल्लेखनीय छन्।

कुमालेका धातुबाट निर्मित विशाल आकृतिका मूर्तिहरूमा देखिने उग्रभाव र जीवन्तता उहाँको कलाको विशिष्ट पहिचान थियो। क्रोध, शक्ति र उग्रभाव झल्कने देवदेवीका मूर्ति निर्माणमा विशेष दक्षता हासिल गर्नुभएका उहाँका सिर्जना हेर्दा मूर्तिभित्रै प्राण भरिएको अनुभूति हुने कला पारखीहरू बताउँछन्।

तर उहाँको व्यक्तिगत स्वभाव भने आफ्ना सिर्जनामा देखिने उग्रताभन्दा पूर्णतः भिन्न थियो। क्रोधरूपी मूर्तिहरू निर्माण गर्ने कलाकार कुमाले स्वयं भने अत्यन्त शान्त, सौम्य र सरल स्वभावका हुनुहुन्थ्यो।

परम्परागत धातु मूर्तिकलाको ज्ञान, सीप र मौलिक शैलीलाई पुस्तान्तरण गर्दै नेपाली कलालाई अन्तर्राष्ट्रिय पहिचान दिलाउन योगदान पुर्‍याएका कुमालेको निधनसँगै नेपाली मूर्तिकलाको एक महत्वपूर्ण अध्यायको अवसान भएको छ।

More From Author

डीएनए परीक्षणबारे जानकारी लिन मन्त्री महावीर पुन नास्टमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *