
ललितपुर असोज ७ – ः विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विपद्का क्रममा मृत्यु भएका तथा बेपत्ता व्यक्तिको पहिचानका लागि भइरहेको डीएनए परीक्षणको अवस्थाबारे जानकारी लिन नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट), खुमलटारस्थित प्रयोगशालाको निरीक्षण गर्नुभएको छ।

भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीपछि ठूलो संख्यामा मानिसको मृत्यु तथा बेपत्ता भएपछि शव तथा शरीरका अवशेषको पहिचानका लागि डीएनए परीक्षणलाई तीव्रता दिइएको छ। नास्टमा नेपाली तथा चिनियाँ प्राविधिक टोलीको सहकार्यमा डीएनए परीक्षण भइरहेको छ।
नास्टका वरिष्ठ वैज्ञानिक तथा प्रवक्ता डा. रामचन्द्र पौडेलका अनुसार राष्ट्रिय विधि विज्ञान प्रयोगशाला र नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा रहेको कामको चापलाई कम गर्न नास्टलाई पनि डीएनए परीक्षणमा सहभागी गराइएको हो। हड्डी तथा दाँतका केही नमुना राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट नास्टमा पठाएर परीक्षण भइरहेको छ। नास्टमा हालसम्म प्रहरीलगायत विभिन्न निकायबाट ८०७ वटा नमुना प्राप्त भएको जनाइएको छ।

मन्त्री पुनले नास्टको प्रयोगशाला नेपालमा डीएनए परीक्षणका लागि ठूलो क्षमताको प्रयोगशाला रहेको बताउँदै बाँकी नमुनासमेत नास्टमा ल्याएर परीक्षणको काम अघि बढाउन समन्वय गर्ने बताउनुभएको छ। उहाँले विपद्का कारण आफ्ना परिवारजन गुमाएका परिवारका लागि डीएनए परीक्षण अत्यन्त संवेदनशील र महत्वपूर्ण प्रक्रिया भएको उल्लेख गर्नुभएको छ।
यसअघि मन्त्री पुनले नास्टमा दैनिक करिब ४० देखि ५० वटा नमुना परीक्षण भइरहेको र नेपाली तथा चिनियाँ प्राविधिक टोली संयुक्त रूपमा कार्यरत रहेको जानकारी दिनुभएको थियो।

शवको अवस्था क्षतविक्षत भएका कारण पहिचानका लागि हड्डी, दाँत, रगतलगायतका नमुनाबाट डीएनए प्रोफाइल तयार गरी बेपत्ता व्यक्तिका आफन्तबाट संकलित नमुनासँग मिलान गर्ने प्रक्रिया अपनाइएको छ। हड्डी तथा दाँतबाट डीएनए निकाल्ने प्रक्रिया तुलनात्मक रूपमा जटिल र समय लाग्ने भएकाले परीक्षण तथा मिलानमा प्राविधिक चुनौती रहेको विज्ञहरूले बताएका छन्।

मन्त्री पुनको नास्ट भ्रमणका क्रममा प्रयोगशालामा भइरहेको नमुना परीक्षण, जनशक्ति तथा उपकरणको अवस्था, विदेशी प्राविधिक टोलीको सहयोग र आगामी दिनमा परीक्षणको क्षमता बढाउने विषयमा समेत जानकारी लिइएको जनाइएको छ।
