ललितपुरमा उपत्यकाकै पहिलोपटक ‘अर्ली वार्निङ प्रणाली’ जडान

ललितपुर, भदौ ८ – ललितपुर महानगरपालिकाले बाढीजन्य प्राकृतिक विपद्बाट सुरक्षा दिने उद्देश्यले उपत्यकामै पहिलोपटक अर्ली वार्निङ प्रणाली जडान गरेको छ। अब महानगरका मुख्य दुई नदीमा पानीको बहाव बढेपछि स्वचालित घण्टी बज्नेछ, जसले बासिन्दालाई समयमै सतर्क गराउनेछ।

महानगरको विपद् व्यवस्थापन शाखाका अनुसार वडा नं. २८ स्थित हरिसिद्धीको कर्मनाशा पुल र वडा नं. ४ नजिकको नख्खु खोला क्षेत्रमा उक्त प्रणाली जडान गरिएको हो। ललितपुर महानगर यस्तो प्रविधि जडान गर्ने पहिलो स्थानीय तह बनेको छ।

महानगर प्रमुख चिरीबाबु महर्जनका अनुसार, “यी दुई नदी आसपासका वडाहरूलाई सचेत गराउने उद्देश्यले अर्ली वार्निङ प्रणाली जडान गरिएको हो। यदि पानीको बहाव जोखिमपूर्ण स्तरमा पुगेमा लगभग २ किलोमिटर सम्म सुनिने गरी घण्टी बज्नेछ।”

उक्त प्रणालीबाट नजिक रहेका बासिन्दा मात्र होइन, नगर प्रहरी र अन्य सम्बन्धित निकायहरूलाई पनि जानकारी दिन सक्ने संयन्त्र निर्माणको तयारी गरिएको छ।

एकीकृत विपद् व्यवस्थापन संयन्त्र

ललितपुर महानगरले विपद् व्यवस्थापनका लागि आवश्यक जनशक्ति र सामग्रीहरू एउटै छानामुनि राख्ने नीति लिएको छ। पुल्चोकस्थित दमकल केन्द्रमा नगर प्रहरी, दमकल, शववाहन, र डुङ्गाको व्यवस्थापन गरिएको छ।

महानगर प्रमुख महर्जनका अनुसार, “अन्तर्राष्ट्रिय अभ्यास अनुसार विपद् व्यवस्थापनमा एम्बुलेन्सदेखि उद्धार टोलीसम्म एकैसाथ परिचालन हुनुपर्छ, त्यसैले सबै संयन्त्र एकै छानामुनि राखिएको हो।”

गत वर्ष असोजमा आएको बाढीको समयमा डुङ्गाको अभाव देखिएको अनुभवका आधारमा हालै उद्धार प्रयोजनका लागि डुङ्गा खरिद गरिएको छ। यसबाहेक, छ वटा दमकल, जसमा गल्लीभित्र समेत पसेर आगो निभाउन सक्ने दमकल पनि सामेल छन्।

वडास्तरमै सचेतना र तयारी

महानगरले वडास्तरमै विपद् पूर्वतयारी र जनचेतना कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। वन, वातावरण तथा विपद् व्यवस्थापन समितिको समन्वयमा वडा स्तरीय स्वयंसेवक समूह गठनको प्रक्रिया पनि अघि बढाइएको छ।

महानगर प्रमुख महर्जन भन्छन्, “जनधनको क्षति हुन नदिन पूर्वतयारीमै जोड दिइएको छ। प्रविधिको प्रयोग र जनसहभागिता दुवै महत्वपूर्ण छन्।”

More From Author

यो मां यो बा छ गन वन म्येंया उलेज्या बारे जानकारी

Nepal Art & Culture Festival 2025 (NAC FEST)

Leave a Reply

Your email address will not be published. Required fields are marked *