
ललितपुर कार्तिक १८ -ः नेपालभाषाको साहित्य, संगीत तथा विज्ञान प्रविधिको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएका तीन जना स्रष्टा प्रतिष्ठित ‘दान्यहिरा सिरपा’बाट सम्मानित भएका छन्।
नेपालभाषाको वाङ्मय क्षेत्रको विकास, प्रवर्द्धन तथा संरक्षणमा क्रियाशील नेपालभाषा एकेडेमीले प्रत्येक वर्ष प्रदान गर्दै आएको उक्त पुरस्कार मंगलबार कीर्तिपुरस्थित एकेडेमीको सभाभवनमा आयोजित विशेष समारोहबीच प्रदान गरिएको हो।
बागमती प्रदेशका मुख्यमन्त्री किरणकुमार थापामगरको प्रमुख आतिथ्य तथा नेपालभाषा एकेडेमीका चान्सलर मल्ल के. सुन्दरको सभापतित्वमा सम्पन्न समारोहमा साहित्य, संगीत र विज्ञान प्रविधि गरी तीन विधाका स्रष्टालाई सम्मान गरिएको थियो।
यस वर्ष दान्यहिरा साहित्य सिरपाबाट समालोचक तथा साहित्यकार पूर्णकाजी ताम्राकार, दान्यहिरा संगीत सिरपाबाट लोकप्रिय गायक प्रवेशमान शाक्य र दान्यहिरा विज्ञान प्रविधि सिरपाबाट एलेन वैलोचन तुलाधर सम्मानित भएका हुन्।
सम्मानित तीनै जना स्रष्टालाई दोसल्ला तथा सम्मानपत्र प्रदान गरिएको थियो। एकेडेमीका चान्सलर मल्ल के. सुन्दरले दोसल्ला ओढाएका थिए भने प्रमुख अतिथि मुख्यमन्त्री किरणकुमार थापामगरले सम्मानपत्र प्रदान गरेका थिए। पुरस्कारको राशि जनही ५० हजार रुपैयाँ रहेको छ। उक्त पुरस्कारको आर्थिक व्यवस्था दाता यज्ञरत्न धाख्वाले गरेका हुन्।
नेपालभाषा साहित्यको विकासमा विगत चार दशकदेखि निरन्तर योगदान दिँदै आएका साहित्यकार पूर्णकाजी ताम्राकारलाई साहित्य विधातर्फ सम्मान गरिएको पुरस्कार निर्णायक समितिका संयोजक तथा एकेडेमीका भाइस चान्सलर डा. पुष्पराज राजकर्णिकारले जानकारी दिए। त्यसैगरी, नेपालभाषाको सांगीतिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै लोकप्रिय गायक प्रवेशमान शाक्यलाई संगीत विधातर्फ र विज्ञान तथा प्रविधिको क्षेत्रमा पुर्याएको योगदानका लागि एलेन वैलोचन तुलाधरलाई सम्मान गरिएको उनले बताए।
समारोहमा सम्मानित व्यक्तित्व पूर्णकाजी ताम्राकार र एलेन वैलोचन तुलाधरले आफ्नो धारणा राखेका थिए भने गायक प्रवेशमान शाक्यले सांगीतिक प्रस्तुति दिएका थिए। यसैगरी वीरप्रसाद भन्सारी, गुज्ये मालाकार, रफेला महर्जन र रीता महर्जनले गीत तथा गजल प्रस्तुत गरेर कार्यक्रमलाई सांगीतिक माहोल प्रदान गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मुख्यमन्त्री किरणकुमार थापामगरले नेवार संस्कृति र साहित्यले नेपालको गौरवशाली पहिचान निर्माणमा महत्वपूर्ण भूमिका खेलेको बताए। नेपालभाषा, संस्कृति र सम्पदाको विकास तथा उचित संरक्षणका लागि प्रदेश सरकार सधैँ सकारात्मक र प्रतिबद्ध रहने उनको भनाइ थियो।
त्यसैगरी, कार्यक्रमका सभापति तथा नेपालभाषा एकेडेमीका चान्सलर मल्ल के. सुन्दरले एकेडेमीले आगामी दिनमा अघि बढाउने योजना तथा कार्यक्रमबारे प्रकाश पार्दै नेपालभाषाको साहित्य, कला, संस्कृति र ज्ञान परम्पराको संरक्षण एवं प्रवर्द्धनमा एकेडेमी निरन्तर सक्रिय रहने बताए।
एकेडेमीका सदस्यसचिव महेन्द्रगोपाल कर्माचार्यले स्वागत मन्तव्य राखेको उक्त समारोहले नेपालभाषाको साहित्य, संगीत र विज्ञान प्रविधिका क्षेत्रमा क्रियाशील स्रष्टाहरूको योगदानको सम्मान गर्नुका साथै नयाँ पुस्तालाई भाषा, कला, संस्कृति र सिर्जनात्मक क्षेत्रमा लाग्न प्रेरणा प्रदान गरेको सहभागीहरूले बताएका छन्।
नेपालभाषाको मौलिक पहिचान, साहित्यिक परम्परा र सांस्कृतिक सम्पदाको संरक्षणमा स्रष्टाहरूको योगदानलाई संस्थागत रूपमा सम्मान गर्दै आएको दान्यहिरा सिरपाले भाषा तथा वाङ्मयको विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
