३८७ वर्ष पुरानो ऐतिहासिक कार्तिक नाचको वराह ख्वापा करिब ५० वर्षपछि जीर्णोद्धार परम्परागत विधिअनुसार जीवन्यास तथा पूजाआजा सम्पन्न, यस वर्षको द्वादशीमा वराह नृत्य प्रदर्शन गरिने

ललितपुर कार्तिक १४ – ः ललितपुरको ऐतिहासिक कार्तिक नाचमा प्रदर्शन गरिने वराह देवको ख्वापा (मुकुण्डो) करिब ५० वर्षपछि जीर्णोद्धार तथा रङ्गरोगन गरी विधिवत् पूजाआजासहित पुनःस्थापना गरिएको छ।


ललितपुरका राजा श्री सिद्धिनरसिंह मल्लको पालामा वि.सं. १६९७ सालदेखि प्रारम्भ भएको कार्तिक नाच नेपालको मौलिक कला, संस्कृति र सम्पदाको महत्त्वपूर्ण पहिचानका रूपमा परिचित छ। करिब ३८७ वर्षदेखि निरन्तर प्रदर्शन हुँदै आएको यस ऐतिहासिक नाचमा प्रयोग हुने वराह देवको मुकुण्डो समयक्रमसँगै जीर्ण भएपछि ललितपुर महानगरपालिका वडा नं. १६ को सहयोगमा मर्मत तथा जीर्णोद्धार गरिएको हो।


वराह ख्वापाको रङ्गरोगन तथा जीर्णोद्धारको कार्य चित्रकार राजु चित्रकारले नारायण कृष्ण श्रेष्ठको निवासमा सम्पन्न गरेका हुन्। मुकुण्डोको जीर्णोद्धारपछि परम्परागत धार्मिक विधिअनुसार जीवन्यास तथा पूजाआजा गरी पुनःस्थापना गरिएको छ।
यससम्बन्धी पहिलो चरणको जीवन्यास निकाल्ने पूजा वि.सं. २०८३ वैशाख ११ गते सम्पन्न गरिएको थियो भने पूर्ण जीवन्यास राख्ने पूजा वि.सं. २०८३ कार्तिक १३ गते सम्पन्न भएको हो। सम्बन्धित सम्पूर्ण धार्मिक तथा पूजाविधि पाटन तलेजुका पुजारीहरूबाट सम्पन्न गरिएको थियो।


वराह नृत्यमा प्रयोग हुँदै आएको उक्त मुकुण्डो यसअघि वि.सं. २०३३ सालतिर मर्मत गरिएको जानकारी वराह नृत्य प्रदर्शन गर्ने परिवारका थकाली नारायण श्रेष्ठ पात्रवंशले दिएका छन्। त्यसयता करिब पाँच दशकसम्म प्रयोग हुँदै आएको मुकुण्डो जीर्ण बनेपछि यसको संरक्षण तथा पुनःजीर्णोद्धार आवश्यक भएको थियो।


परम्पराअनुसार वराहको मुकुण्डो मर्मत गरेपछि यज्ञ तथा विधिवत् पूजाआजा सम्पन्न गरेर मात्र नृत्यमा प्रयोग गर्नुपर्ने मान्यता रहेको छ। सोही परम्परालाई निरन्तरता दिँदै शुक्रबार यज्ञसहित विशेष पूजाआजा गरी मुकुण्डोको धार्मिक संस्कार सम्पन्न गरिएको हो।
कार्तिक नाचअन्तर्गत द्वादशीका दिन प्रदर्शन गरिने वराह नृत्यमा यसै मुकुण्डोको प्रयोग गरिन्छ। ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको मुकुण्डोको जीर्णोद्धारले कार्तिक नाचको मौलिकता, परम्परा र सांस्कृतिक सम्पदाको संरक्षणमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।


करिब पाँच दशकपछि गरिएको यस कार्यले पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको पाटनको ऐतिहासिक नाच तथा धार्मिक परम्परालाई आगामी पुस्तासम्म सुरक्षित राख्न सहयोग पुग्ने विश्वास गरिएको छ।

More From Author

नेपाली कांग्रेस केन्द्रीय सदस्यको प्रमाणपत्र ग्रहण गर्दै मेयर चिरीबाबु महर्जन

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Recent Posts